केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत बिहीबार निर्वाचन आयोग पुगेका छन्।
आयोग पुगेका बस्नेतसँग कुनै औपचारिक छलफल भने नभएको एक आयुक्तले नेपालखबरसँग भने।
‘उहाँ कतैबाट घुम्दै आउनुभएको होला, आयोगमा उहाँलाई देखेको हो,’ ती आयुक्तले नेपालखबरसँग भने, ‘हामीले पनि नमस्कार ग¥यौं, उहाँसँग कुनै मिटिङ पनि थिएन। मेरो सानो काम थियो भन्नुभयो, अनि निस्कनुभयो।’
प्रतिनिधि सभाका सांसदसमेत रहेका बस्नेतले भने आयोगबाट बाहिरिने क्रममा पत्रकारसँग नेकपाका बहुमत सदस्य पार्टी एकताको पक्षमा रहेकाले विभाजनको निर्णय दिन हतारो नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको बताएका थिए।
‘हामीहरु एकताको अभियानमा लागेका छौं, विभाजनको निर्णय गर्न हतारो नगरिदिनुस्,’ प्रधानमन्त्री ओलीसँग अत्यन्त निकट मानिने बस्नेतले सञ्चारकर्मीसँग भने।
तर आयोगका ती आयुक्तले बस्नेतले कुनै सल्लाह पनि नगरेको र आफूहरुसँग केही पनि नभनेको दाबी गरे।
‘हामीसँग केही कुरा गर्नुभएन तर तल पत्रकारसँग त्यसो भन्नुभएछ। हामीले पनि त्यो सुन्यौं,’ उनले भने, ‘उहाँले बाहिर मिडियामा त मैले यसो बोले है भन्नुभयो, हामीले पनि हस् भन्यौं।’
ती आयुक्तले आज चाहिँ ओली पक्ष नभई प्रचण्ड–नेपाल पक्षसँग भेट तय भएको बताए।
‘कार्यक्रम अर्को पक्षसँग हो तर उहाँहरु आइपुग्नुभएको छैन,’ उनले बिहीबार अपरान्ह भने।
हालसम्म विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगलाई सो पार्टीको आधिकारिकताको विवाद छिटो टुंग्याउन दबाब दिँदै आएको थियो।
तर केहि दिनयता अरु पक्षले पनि आयोगलाई छिटो निर्णय गर्न दबाब दिएका छन्।
हिजो बुधबार पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त विज्ञप्ति निकाली आयोगको अनिर्णयले राजनीतिक गतिरोध बढेको भन्दै नेकपाको विवादमा छिटो निर्णय दिन आयोगसँग आग्रह गरेका थिए।
त्यसैगरी केहि दिनयता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुले पनि आयोगले छिटो निर्णय दिनुपर्ने बताएका छन्।

प्रतिक्रिया