राजनीति


शिक्षामन्त्रीको चुनाैतीः प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाऊ

शिक्षामन्त्रीको चुनाैतीः प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाऊ

नेपालखबर
फागुन १२, २०७७ बुधबार ७:४,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन्।

सीटीईभीटीको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका हुन्।

उनले भने, ‘राजीनामा दिने हामी कायर हो र? कुनै पनि हालतमा राजीनामा आउँदैन। प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ।’

मन्त्री श्रेष्ठले संसद् सुचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए।

उनले अदालतले गरेको निर्णयलाई सम्मान गर्ने तर यो निर्णयले झन् विवाद बढाएको बताए।

उनले भने, ‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्यांकन गर्नेछन्।’

संसद् पुनर्स्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै उनले सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे।

‘अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ’, उनले भने।

‘हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौँ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ’, उनले भने, ‘अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ।’

अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको उनको भनाइ छ।

‘हामी मैदानमा उत्रिएका छौँ, खेल खेल्ने तयारीमा छौँ’, उनले भने, ‘हामीले गोल गरेरै देखाउँछौँ।

नैतिकताको कुरा गर्दै प्रधानमन्त्रीको राजीनामा माग्नेहरुलाई मन्त्री श्रेष्ठले अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए।

उनले मुलुक राजनीतिक संकटतर्फ धकेलिएको संकेत गर्दै यसलाई रोक्ने काम ओली सरकारको भएको चर्चा गरे।

उनले भने, ‘यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ।’
संसद पुनःस्थापना भएपछि सरकारको तर्फबाट पहिलो धारणा राखेका मन्त्री श्रेष्ठले अब पनि केपी ओलीको विकल्प नभएको स्पष्ट पारे।

कार्यक्रममा सीटीईभीटीले गरेका कामको प्रशंसा गर्दै योजनाबद्ध ढंगले अधि बढ्न निर्देशन दिए। सो संस्थाको अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य(शिक्षा) डा. उषा झा, सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले बोलेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad