ad ad

राजनीति


सरकार–विप्लव वार्तामा, प्रतिबन्ध फुकुवासँगै टोली घोषणा हुँदै

सरकार–विप्लव वार्तामा, प्रतिबन्ध फुकुवासँगै टोली घोषणा हुँदै

सागर न्यौपाने
फागुन ९, २०७७ आइतबार १४:५८,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि दुई सर्त अघि सारेको छ।

सरकारले वार्ताको वातावरण बनाउन पार्टीमाथिको प्रतिबन्ध फुकुवा, गिरफ्तार गरिएका नेताहरुलाई रिहाइ गर्नुपर्ने सो पार्टीका एक उच्च नेताले नेपालखबरसँग बताए।

विप्लवनिकट उच्च स्रोतका अनुसार पक्राउ परेका नेता धर्मेन्द्र बास्तोलासँग तीनपटक छलफल गरेपछि सरकार विप्लवसँग वार्ता गर्ने निर्णयमा पुगेको हो।

सरकारले सकारात्मक वातावरण बनाए महासचिव विप्लव नै सार्वजनिक हुने ती नेताले बताए।

अहिले विप्लव सरकारको जवाफको प्रतीक्षामा रहेको उनको भनाइ छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ता गर्न सकारात्मक रहेको जनाएका थिए।

‘हामी सरकारको जवाफ कुरिरहेका छौँ,’ ती नेताले भने, ‘प्रतिबन्ध फुकुवा र सरकारले गिरफ्तार गरेका हाम्रा साथीहरुलाई रिहा गरेर वार्ताको वातावरण बनाउनुपर्छ।’

सरकारले प्रतिबन्ध लगाएपछि महासचिव विप्लव भूमिगत भएका थिए।

‘यदि सहज वातावरण बनाए विप्लव सार्वजनिक हुनुहुनेछ,’ ती नेताले थपे।

सहज अवस्था भए सो पार्टीले तीन सदस्यीय वार्ता टोली गठन गर्ने तयारी गरेको उनको भनाइ छ।

ललितपुरको बागमती गाउँपालिका–७ बाट पक्राउ परेका धर्मेन्द्र बास्तोला, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र ट्रेड युनियनमा रहेका एक नेता वार्ता टोलीमा रहने ती नेताले जानकारी दिए।

सरकारसँग वार्ताको तयारी गर्न आएकै बेला पुस २९ गते बास्तोला पक्राउ परेका थिए।

‘अहिले सरकारबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र मणि थापा वार्ताका लागि सक्रिय हुनुहुन्छ,’ उनले भने, ‘हामीले पनि तीन सदस्यीय टोली गठनको तयारी गरेका छौँ। सरकारको वार्ताटोलीमा कति सदस्य हुन्छन्, त्यसकै आधारमा संख्या थपघट गर्छौँ।’

एकीकृत जनक्रान्तिको अवधारणा लिएर हिँडेका विप्लवका कार्यकर्ताले दुई वर्षअघि विभिन्न स्थानमा बम विस्फोट गराएपछि सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।

माघ २० गते खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए। थापाले वलीलाई भेट्नुको उद्देश्य नै वार्ताको वातावरण बनाउन भएको बताइएको छ।

थापा र विप्लव नेताबीच वार्ता
उच्च स्रोतका अनुसार खानेपानीमन्त्री थापा र विप्लवका केन्द्रीय तहका नेताहरुबीच उपत्यकाकै आसपासमा वार्ता भइरहेको छ।

आइतबार दिउँसोदेखि भएको वार्ताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिपोर्टिङ गरेपछि सरकारले सो पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवाको निर्णय हुनेछ। संभवतः भोली सोमबार सरकारबाट यो निर्णय आएसँगै दुवै पक्षले औपचारिक वार्ता टोली घोषणा गर्नेछन्।

विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।

तर, विप्लवले सशस्त्र क्रान्ति नभनी एकीकृत क्रान्ति भन्ने गरेका छन्। जसको उद्देश्य फौजी कारबाही नहुने भएकोले सहज रुपमा राजनीतिक गतिविधि गर्न पाउनुपर्ने उनीहरुको माग छ।

फागुन १४ गते रणनीतिक मोर्चाको कार्यक्रममा विप्लव सार्वजनिक हुने तयारी रहेको उनी निकट नेताहरु बताउँछन्।

‘रणनीतिक मोर्चा’मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन्।

ती पार्टीले माघ २९ गते काठमाडौंमा मोर्चा घोषणा गरेका हुन्। फागुन १४ गते मोर्चाले धनगढीमा कार्यक्रम राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .