ad ad

कारोबार


पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा महोत्सव सुरु

पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा महोत्सव सुरु

गोकुल जोशी
फागुन ९, २०७७ आइतबार १४:४७,

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ।

‘पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित सुरु महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि भीमदत्त नगरपालिकाले चौथो पटक महोत्सव आयोजना गरेको हो। दुई वर्षदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घोषणाको दिन फागुन ९ गते शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुँदै आएको छ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले औपचारिक कार्यक्रमकाबीच महोत्सव उद्घाटन गरेका छन्। उनले महोत्सवबाट शुक्लाफाँटा निकुञ्जको प्रचारप्रसार भएर पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धनका हिसाबले निकै महत्वपूर्ण ठाउँ हो, यसको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको छ’ उनले भने, ‘यो महोत्सवबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा लिएको छु।’

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले शुक्लाफाँटा निकुञ्ज सुदूरपश्चिम प्रदेशको ठूलो पर्यटकीय स्थल भएकाले पर्यटन प्रवर्द्धनलाई मध्यनजर गरी महोत्सव गरिएको बताए।

‘यो शुक्लाफाँटा निकुञ्ज महत्वपूर्ण पर्यटकीय सम्पदा हो, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार आवश्यक छ’ उनले भने,‘यो महोत्सवबाट यसको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने आशा लिइएको छ।’

महोत्सव अन्तर्गत ११ गते विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता राखिएको छ। फागुन १२ र १३ गते झोलुङ्गे पुलदेखि एयरपोर्टसम्म साइकल रेस प्रतियोगिता, निकुञ्ज भ्रमण गराउने कार्यक्रम छ।

यसैगरी १३ र १४ गते विभिन्न क्षेत्रमा योगदान पुगाउने विशिष्ठ व्यक्तित्वलाई हात्ती सफारी र भ्रमण गराइनेछ। महोत्सवको अन्तिम दिन फागुन १५ गते पुरस्कार वितरण गरी महोत्सव समापन गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .