राजनीति


यसकारण ओलीको निशानामा परे परियार

यसकारण ओलीको निशानामा परे परियार

सागर न्यौपाने
फागुन ७, २०७७ शुक्रबार १२:१२,

सरकारले २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार बर्खास्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई बर्खास्त गरेर राजेश झालाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

राजेश अहिराजका रुपमा परिचित झाले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थकको छवि बनाएका छन्। संसद विघटन गर्ने निर्णय लगायतका प्रधानमन्त्री ओलीका कदमहरुको पक्षमा झाले प्रतिरक्षा गर्ने गरेका छन्।

सरकारले २०७६ साल कात्तिक १९ गते सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर उनीहरुको ठाउँमा नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरिएको थियो। पूर्वमाओवादी नेता रहेका परियारलाई पनि सरकारले त्यति नै बेला प्रदेश प्रमुख नियुक्त गरेको हो। त्यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले परियारको नाम सिफारिश गरेको बताइन्छ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा अहिले विभाजित छ।

अहिले फरक फरक पार्टीको अभ्यास गरिरहेका ओली र प्रचण्ड–नेपाल पक्ष एकअर्काप्रति आक्रामक छन्। यति नै बेला सरकारले परियारलाई हटाएको छ।

यो पनि: प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार राष्ट्रपतिद्वारा बर्खास्त

प्रधानमन्त्री ओलीले प्रचण्डलाई सन्देश दिनको लागि परियारलाई हटाएको ओलीनिकट स्रोतको भनाइ छ।

‘प्रचण्ड कार्यकारी अध्यक्ष हुँदा उहाँ (तिलक परियार)लाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो,’ बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो, ‘अहिले हटाएर प्रचण्डलाई सन्देश दिन खोजिएको हो।’

प्रचण्ड–नेपाल पक्षले सडक संघर्ष चर्काइरहेका बेला प्रचण्डनिकट परियारलाई हटाएर ओलीले आन्दोलनरत् पक्षविरुद्ध थप कडारुपमा प्रस्तुत हुने सन्देश दिन खोजेका छन्।

यसलाई प्रचण्ड–नेपाल पक्षले राजनीतिक प्रतिशोध साँधेको रुपमा लिएको छ।

नेकपा स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले परियारलाई प्रदेश प्रमुखबाट हटाएर ओलीले राजनीतिक बदला लिएको बताए।

त्यसो त हालैको अर्को एक घट्नासँग पनि परियारको बर्खास्तगीलाई जोडिएको छ।

प्रधानमन्त्री ओलीनिकटका कट्टर समर्थक रहेका नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराई र परियारको सचिवालयमा कार्यरत अनिलकुमार पासवानबीच केहि दिनपहिले झगडा भएको थियो।

माघ ३० गते सोनाम ल्होसारका दिन भट्टराई र पासवानबीच टेलिफोनमा विवाद भएको अडियो सार्वजनिक समेत भएको थियो।

आफूलाई ‘ओलीको छोरा र साइवर सेनाको प्रधानसेनापति’ दाबी गर्ने भट्टराईले विवाद बढ्दै गएपछि महोत्तरी बर्दिवासका पासवानलाई अपहरण गर्ने धम्की समेत दिएका थिए।

‘केपी ओलीको छोरो हुँ, तलाई एक घण्टाभित्रै अपहरण गर्न सक्छु,’ भट्टराईले पासवानलाई चेतावनी दिएका थिए।

पासवानले पनि विवादकै क्रममा आक्रोशित भएर अभिव्यक्ति दिएको अडियोमा सुन्न सकिन्छ।

ओलीनिकट भट्टराईसँग परियारका कर्मचारीको विवाद भएको एक हप्तापछि उनलाई बर्खास्त गरिएको छ।

सो कुरालाई पुष्टि गर्नेगरी भट्टराईले शुक्रबार परियारलाई हटाएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा ‘टिट फर ट्याट’ भनेर लेखेका छन्।

प्रदेश प्रमुख तिलक परियार पदमुक्त भन्दै भट्टराईले आफूलाई ‘बदनाम गराउन खेताला लगाउने यिनै हुन्’ भनी सामाजिक सञ्जालमा लेखेका थिए।

‘यस्ता माननीयको पनि समय आएपछि हिसाब किताब हुन्छ भनेर अस्ति मात्रै मैले भनेथेँ,’ उनले लेखेका थिए, ‘राजकीय पदमा बसेर सबै अराजकीय दबाब बनाउनेहरु ओली सरकारमा टिक्न गार्हो छ। अपराधीहरुले बेलैमा बुझ्दा राम्रो टिट फर ट्याट।’

GuruBhattarai status

तर उनले फेसबुकमा लेखेको सो स्टाटस केहिबेरपछि हटाएका थिए।

परियारको सचिवालयले भने उनी प्रचण्डनिकट भएकै कारण सरकारले उनलाई प्रदेश प्रमुखबाट हटाएको जनाएको छ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वाेच्च अदालतमा बिचाराधीन रहेकै बेला सरकारले प्रदेशका प्रमुख समेत हेरफेर गर्न थालेको छ।

यसबाट अन्य प्रदेशमा समेत प्रभाव पार्ने देखिन्छ।

बिहीबारमात्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नै भंग हुनसक्ने चेतावनी दिएका थिए।

प्रदेश १ मा प्रचण्ड–नेपाल पक्षले उनीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता नलिए प्रदेश नै भंग हुनसक्ने उनले चेतावनी दिएका हुन्।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध समेत प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ। सो प्रस्तावमाथि छलफल नहुँदै बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ।

राई र पौडेल दुवै ओलीनिकट मुख्यमन्त्रीहरु हुन्।

यो पनि :
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .