विवेकशील साझा पार्टीले बागमती प्रदेश सभामा सभामुखमाथि अनावश्यक विवाद सिर्जना गरी प्रदेश सरकार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट भाग्न खोजेको आरोप लगाएको छ।
बुधबार सभामुखले हठात् रुपमा सूचना टाँसेर प्रदेश सभा बैठक स्थगित गरेपछि विवेकशील साझाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सभा बैठक स्थगितप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको हो।
विवेकशील साझाका प्रदेश सभा सदस्य रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा अविश्वासको प्रस्ताव उपर विना कुनै विलम्ब छलफल गरी निष्कर्षमा पुग्नुपर्ने बताइएको छ।
नेकपा विभाजनपछि प्रचण्ड–नेपाल समूहका ४५ सांसदल पुस ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्ताव माध १० गते प्रदेश सभामा उक्त प्रस्ताव टेबुल भएको भन्दै अविश्वासको प्रस्तावबाट नभाग्न अनुरोध समेत गरिएको छ।
‘२०७७ पुस १० गते प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेश सभामा प्रस्ताव टेबुल समेत भैसकेको सन्दर्भमा विना कुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने हाम्रो ठहर छ’, पौड्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोज्ने प्रदेश सरकारको प्रवृत्तिको हामी विरोध गर्दछौँ र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न जोडदार माग गर्दछौँ।’
प्रतिक्रिया