सरकारले प्रति खोप ४ अमेरिकी डलरको दरमा भारतसँग २० लाख कोभिड–१९ को खोप खरिद गर्ने भएको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
‘हामीले २०–२१ दिन पहिलेदेखि नै प्रयास गरिरहेका थियौं, गर्दागर्दै यति समय लागिसक्यो, अब बाधा अड्काऊ फुकेको छ,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालखबरसँग भने, ‘४ डलरको दररेटमा २० लाख भ्याक्सिन खरिद गर्ने निर्णय भएको छ।’
उनका अनुसार उत्पादक कम्पनीले सो दरमा काठमाडौं विमानस्थलसम्म ल्याइदिनेछ।
‘त्यसका लागि पैसा चाहिँ अग्रिम भुक्तानी गर्नेछौं,’ त्रिपाठीले भने।
अब खोप आउने पक्का भएको उनले बताए।
नेपालमा यसअघिदेखि नै खोप लगाउने क्रम सुरु गरे पनि त्यो भारतबाट अनुदानमा प्राप्त १० लाख खोप लगाइएको हो।
चीनले पनि नेपाललाई ५ लाख खोप अनुदानमा प्रदान गर्ने भएको छ भने राष्ट्रसंघको संयोजनमा बनेको कोभ्याक्समार्फत् पनि नेपालले साढे २२ लाख डोज खोप प्राप्त गर्नेछ।
Shares

प्रतिक्रिया