नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले तीन वर्षको अवधिमा कुनै प्रभावकारी काम हुन नसकेको बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको प्रशंशा एकतर्फी रुपमा गर्दै हिड्नुले उनको असफलता प्रकट भएको नेता पौडेलको भनाई छ।
प्रधानमन्त्री ओली आत्मरति गर्दै हिँडेपनि तथ्य तथ्यांकहरुले भ्रष्टाचार र अनियमितता निकै मौलाएर गएको उनले बताए। सरकारले निर्वाचनको बेलामा घोषणा गरेको जेष्ठ नागरिकलाई पाँचहजार भत्ताको विषय नीति कार्यक्रम र बजेटमा हाल्न नसकेको उनको भनाई छ। सरकारको आत्मरति र आत्मप्रशंशा बाहेक केही नभएको भन्दै उनले सरकारले यो काम राम्रो गर्यो भन्ने स्थिति नभएको बताए।
नेता पौडेलले वैशाखमा निर्वाचन नहुने दाबी पनि गरे। निर्वाचन गर्नको निम्ति प्रतिनिधि सभा विघटनको कदम चालिएको नभई सरकार टिकाउन र निरंकुश प्रणाली नेपालमा लागू गर्ने उद्धेश्य राखिएको उनको भनाई छ। राजनीतिक र संवैधानिक संकट मोचनका लागि संयुक्त जनआन्दोलन आवश्यक रहेको उनले बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले केपी ओलीको सरकार पूर्ण रुपमा असफल भएको बताए। राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न नसकेको तथा अर्थमन्त्रीले बजेट कटौती गर्नुपर्ने अवस्थासम्म आईपुगेको उनको भनाई छ। गैरसंवैधानिक तरिकाबाट राष्ट्र चलाउन खोजिएको उनले बताए। सिंगो कम्युनिष्ट पार्टी नै असफल भएको उनको भनाई छ। संयुक्त आन्दोलनको निम्ति कम्युनिष्ट पार्टीले विश्वास गुमाएको नेता ढुंगानाले बताए।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेकपाको आन्तरिक किचलो, वर्तमान व्यवस्थाको फाइदा उठाउँदै र विदेशी शक्तिको हस्तक्षेपका कारण प्रतिनिधि सभा विघटन भएको बताए। ३ वर्षे कार्यकालमा प्रधानमन्त्री ओलीले केही गर्न नसकेको उनको भनाई छ। प्रतिनिधिसभा पुनर्स्थापना तथा नयाँ निर्वाचन दुवैले वर्तमान राजनीतिक संकटको निकास नदिने उनले बताए।
प्रतिनिधि सभा विघटन केपी शर्मा ओली र नेकपाको मात्रै असफलता नभई व्यवस्थाकै असफलता भएकाले वर्तमान व्यवस्थाकै पुर्नविचार गर्नुपर्नेमा उनले जोड दिए।
Shares

प्रतिक्रिया