राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई विवेकशील पार्टीले पासपोर्ट उपहार दिएर अधिनायकवाद विरुद्ध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उनीहरुका पुस्ताका सम्पूर्ण नेतालाई पासपोर्ट उपहार भन्ने प्लेकार्ड प्रदर्शन गरिएको थियो।
मुख्य नेतृत्वमा रहेका राजनीतिक दलका नेताहरुको गैर जिम्मेवारपूर्ण व्यवहारले नागरिकहरुमा निरन्तर सामूहिक नैराश्यता छाएको र युवाहरु विदेशिन बाध्य भएर पासपोर्ट लिने लाइनमा बस्नु परेको भन्दै प्रदर्शन गरिएको सो दललले जनाएको छ।
मुख्य राजनीतिक दलका प्रमुख नेताहरुकै अकर्मण्यताको कारण देशको अर्थतन्त्रसँगै पासपोर्ट पनि निरन्तर कमजोर बनेको र ४० वर्ष भन्दा मुनिका महिलाहरुलाई विदेश जाँदा वडा र परिवारको सिफारिस अनिवार्य गर्न सिफारिस गरेका विषयहरुको विरोधमा सांकेतिक विरोध स्वरुप पासपोर्ट उपहार दिएर प्रदर्शन गरेको विवेकशील पार्टीका नेता छिरीङ तामाङले बताए।
अधिनायकवाद विरुद्धको दोस्रो चरणको आन्दोलनको स्वरुपमा विवेकशील दलले हरेक सोमबार र बिहीबार बिहान १०ः३० बजे माइतीघरमा प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया