ad ad

राजनीति


प्रधानमन्त्रीलाई पुनको प्रश्न : कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

प्रधानमन्त्रीलाई पुनको प्रश्न : कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

नेपालखबर
फागुन २, २०७७ आइतबार १२:४१,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले कोभिड–१९ महामारीले शिथिल भएको मुलुकको अर्थतन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने बताए। पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो।

निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक/एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गरे।

‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५० अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन’, पुनले भने, ‘प्रधानन्त्रीजी तपाईं जनताप्रति जिम्मेवार हुनुहुन्छ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोेजेको हो?’

प्रधानमन्त्री ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिँडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नरहेकामा जोड दिए।

उनले संविधानले सार्वभौमसत्ता र राजकीय अधिकार नेपाली जनतामा रहेको स्पष्ट गरेको भन्दै पुनले विगतमा राजामहाराजाले जसरी राजयकीय अधिकार आफूमा रहेको दाबी गर्नुले प्रधानमन्त्री ओलीमा रहेको निरंकुश चरित्र प्रकट भएको बताए।

‘प्रधानमन्त्रीका वकिलहरुले हुँदाहुँदा हिजो श्री ५ र श्री ३ मा भएको अधिकार प्रधानमन्त्रीसँग छ भनेछन्’, पुनले भने, ‘यो निरंकुश, स्वेच्छाचारी र लोकतन्त्रविरोधी तर्क हो। लोकतन्त्रमा सार्वभौमसत्ता र कार्यकारी अधिकार जनतामा हुन्छ।’

नेता पुनले संविधान, लोकतन्त्र र जनमत बचाउन आफूहरु आन्दोलनमा रहेको भन्दै दमन र बल प्रयोगको धम्की नदिन प्रधानन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई चेतावनी दिए।

‘तपाईंहरुले ७० वर्षसम्म जनताले रगत÷पसिना बगाएर ल्याएको लोकतन्त्रमाथि प्रहार गर्नुभएको छ’, पुनले भने, ‘हामी क्रान्तिकारीहरुलाई बल प्रयोगको धम्की दिन बन्द गर्नुस्, हामी त्यस्ता धम्कीसँग डराउँदैनौं।’

जनसमर्थन कमजोर भएपछि प्रधानमन्त्री र गृहमन्त्री धम्की र बल प्रयोगको भाषा प्रयोग गर्न थालेको उनको भनाइ थियो। गृहमन्त्री थापाले आफूहरुको आमहड्तालका दिन २२ माघमा प्रचण्ड र माधव नेपाललाई सडकबाटै उठाउन प्रहरीलाई निर्देशन दिएको र २३ गते नारायणहिटी अगाडिबाट आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने धम्की दिएको भन्दै पुनले त्यसको निन्दा गरे।

सेना र प्रहरीको घेरामा बसेर धम्कीको भाषा बोल्न बन्द नगरे आन्दोलन सफल भएका दिन ओली र थापालाई सडकमा घिसार्दा कसैले सुरक्षा नगर्ने पुनको चेतावनी थियो।

नेता पुनले आफूहरुले विश्वास गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष स्वीकार गरेको व्यक्तिले संविधान, लोकतन्त्र र जनमतमाथि घात गरेका कारण आफूहरु जनताका बीचमा क्षमा माग्न आएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .