ad ad

राजनीति


नयाँ पार्टी गठनको तयारीमा त्रिपाठी, ओली समूहमा पस्न लागेका जसपाका नेता रोकिए

नयाँ पार्टी गठनको तयारीमा त्रिपाठी, ओली समूहमा पस्न लागेका जसपाका नेता रोकिए

सागर न्यौपाने
फागुन २, २०७७ आइतबार १२:२९,

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदका एक सदस्यले नयाँ पार्टी गठनको तयारी थालेका छन्। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नयाँ पार्टी गठनको तयारीमा लागेका हुन्।

प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन्। यहीबेला तराईमा राम्रो जनमत रहेका त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठनको गृहकार्य भइरहेको हो।

संघीय निर्वाचन २०७४ मा सूर्य चिन्ह लिएर स्वतन्त्र रुपमा चुनाव लडेका त्रिपाठीले यसका लागि विभिन्न पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन्।

त्यसैमध्येका एक हुन् सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव लडेका बृजेशकुमार गुप्ता।

गुप्ताले नयाँ पार्टीको विषयमा छलफल भइरहेको तर टुंगो लागिनसकेको नेपालखबरलाई जानकारी दिए।

‘आवश्यक पर्‍यो भने पार्टी बनाउन सकिन्छ,’ गुप्ताले नेपालखबरसँग भने, ‘संसदीय राजनीतिमा एउटा पार्टी त चाहियो। नेपालमा कांग्रेस, एमाले, जसपा, राप्रपा कुनैपनि दल राम्रो नभएकोले नयाँ पार्टी बनाउनेगरी छलफल भइरहेको छ।’

नयाँ पार्टी बनाउने कि अन्य कुनै पार्टीमा जाने भन्ने विषयमा छलफल हुँदा आम कार्यकर्ताले भने नयाँ पार्टी खोल्न सुझाव दिएको उनले बताए।

त्रिपाठीले जनता समाजवादी पार्टी, नेकपाको ओली र प्रचण्ड–नेपाल समूहका केही नेतासँग परामर्श गरिरहेका छन्।

‘जसपामा राजकिशोर यादव र अनिलकुमार झालगायत केही असन्तुष्ट साथीहरु परामर्शमा हुनुहुन्छ,’ त्रिपाठीनिकट एक नेताले भने, ‘प्रचण्ड–नेपाल र ओली समूहका नेताहरुसँग छलफल गरिरहनुभएको छ।’

त्रिपाठीले नयाँ पार्टी खोल्ने तयारी गरेसँगै ओली समूहमा प्रवेश गर्न ठिक्क परेका जसपाका केही नेता रोकिएका छन्।

‘विचार, कार्यशैली र निर्वाचन क्षेत्र उस्तै पर्छ, भाषा, रहनसहन पनि मिल्छ। त्यही भएर पहिलो प्राथमिकता त्रिपाठीले गठन गर्ने पार्टीलाई दिएका छौँ,’ त्रिपाठीसँग संवादमा रहेका जसपाका एक नेताले भने।

नयाँ पार्टी गठन र औपचारिक घोषणा नै गर्न भने केही समय लाग्न सक्ने परामर्शमा रहेका नेताहरुले बताए।

केही नेताहरु संसद् विघटनसम्बन्धी सर्वाेच्च अदालतको फैसला कुरेर बसेको गुप्ताले बताए।

‘सर्वाेच्चको फैसला नआएसम्म केही अन्यौल छ, अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदियो भने के गर्ने?’ गुप्ताले भने, ‘धेरै साथीहरु यो अन्यौलबीच खुल्न सक्नुभएको छैन।’

यो पनि : हाम्रो नयाँ पार्टी लोकतान्त्रिक वामपन्थी शक्तिसँग निकट हुनेछः त्रिपाठी (अन्तर्वार्ता)

परामर्शमा रहेका केही नेताहरुले विचार र संगठनात्मक विधि प्रष्ट नभई दलमात्र बनाएर केही नहुने सुझाव दिएका छन्।

त्रिपाठीको सम्पर्कमा रहेका नेताहरुले अदालतको फैसलालगत्तै निर्णय लिइने बताए।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको भन्दै प्रचण्ड–नेपालले सडक आन्दोलन तीव्र पारिरहेका छन्।

यसबारे सर्वोच्चमा सुनावाइ भइरहेको छ।

प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका थिए। सामान्य प्रशासनमन्त्री रहेका त्रिपाठीलाई त्यसपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

कतिपय नेताहरुले भने त्रिपाठीले नयाँ पार्टी गठन नगरी ओली नेतृत्वको नेकपामै मिल्ने सम्भावना रहेको बताइरहेका छन्। अहिले मन्त्रालयमा गरेको कामका आधारमा पनि त्रिपाठीलाई ओलीले विश्वास गरेको देखिन्छ।

पार्टीभित्रबाट समस्यामा परेका बेला वैशाख १७ गते ओलीले आफूपक्षीय सांसदहरुसँग परामर्श गर्दा स्वतन्त्र सांसद रहेका त्रिपाठीलाई पनि बोलाइएको थियो।

कहिल्यै पार्टीको नेतृत्वमा नपुगेका त्रिपाठी
पञ्चायतकालमा वामपन्थी विचारधाराबाट राजनीति थालेका त्रिपाठी २०३४ मा विद्यार्थी आन्दोलनमा सहभागी बनेका थिए। उनले २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यको चुनाव पनि लडेका थिए।

बहुदल स्थापनापछि उनी गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीमा प्रवेश गरे। त्यसयता मधेसकेन्द्रित राजनीति गरेका उनी तीन पटक मन्त्री पनि बने।

२०५४ मा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा वन तथा भूसंरक्षणमन्त्री बनेका उनी २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री भएका थिए। २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री थिए।

प्रतिनिधिसभा निर्वाचनकै मुखमा राष्ट्रिय जनता पार्टी छाडेर उनले ‘स्वतन्त्र राजनीतिक समूह’ बनाई स्वतन्त्रबाट चुनाव लडेका थिए। नवलपरासी क्षेत्र नम्बर १ बाट एमालेको सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनाव जितेका त्रिपाठीले कहिल्यै पनि पार्टीको मुख्य नेतृत्व भने लिएका छैनन्।

गजेन्द्रनारायण सिंहको निधनपश्चात उनकै श्रीमतीले गठन गरेको सद्भावना पार्टी (आनन्ददेवी) मा त्रिपाठी प्रभावशाली नेता थिए। तर उनले नेतृत्व लिन भने सकेनन्।

सोही पार्टीबाट उनले २०४८, २०५६ र २०५१ को निर्वाचनमा नवलपरासीबाट चुनाव जिते। त्रिपाठी २०६४ सालको संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विजयी भए। तर, ०७० को निर्वाचनमा भने पार्टीको आन्तरिक किचलोका कारण पराजित भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .