राजनीति


भागरथी हत्या प्रकरण : कांग्रेस केन्द्रीय प्रतिनिधि लेखक बैतडीमा

भागरथी हत्या प्रकरण : कांग्रेस केन्द्रीय प्रतिनिधि लेखक बैतडीमा

नेपालखबर
फागुन २, २०७७ आइतबार ५:२३,

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन्।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने जनाइएको छ।

केन्द्रीय प्रतिनिधि लेखकले आइतबार घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।

स्थलगत अध्ययन र विभिन्न व्यक्तिसँगको छलफलपछि नेता लेखकले प्रतिवेदन पार्टीलाई बुझाउने उनले बताए। लेखकले यसअघि शनिबार कांग्रेस जिल्ला समितिसँग पनि छलफल गरेका थिए। कांग्रेसले नेता लेखकलाई घटनाको सत्यतथ्य बुझ्न, घटनाको अध्ययन गरी देखिएका विषयवस्तु समेटेर पार्टीलाई बुझाउने जनाइएको छ।

घटनापश्चात विभिन्न पार्टीका नेता, कार्यकर्ता घटनास्थल र पीडित परिवारलाई भेट्ने क्रम चलिरहेको छ। यसअघि नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापा, कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेशसभा सदस्य कर्ण मल्ल, लीलाधर भट्ट, पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीलगायतका नेता कार्यकर्ताले घटनास्थलको अवलोकन र पीडित परिवारलाई भेटेका थिए।

भागरथी गत माघ २२ गते बलात्कारपछि हत्या गरिएकी अवस्थामा स्थानीय लवलेक जंगलमा फेला परेकी हुन्। हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन। आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राखेका छन्। जिल्ला अस्पतालमा रहेको शवलाई सुरक्षित राख्न समस्या भइरहेको अस्पतालले जनाएको छ। यता प्रहरीले भने अपराधी नजिक पुगेकाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

घटनापश्चात घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ। उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन्।

यस्तै घटना भएको ११ दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ। आज पनि स्थानीय सिल्लेगडा र खोचलेक बजार सिठ्ठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका सदस्य भोजराज जोशीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad