राजनीति


आज एक घण्टाभित्र बहस सक्नुपर्नेछ प्रधानमन्त्री ओलीका वकिलले

आज एक घण्टाभित्र बहस सक्नुपर्नेछ प्रधानमन्त्री ओलीका वकिलले

नेपालखबर
माघ २९, २०७७ बिहिबार ३:५,

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले दिएको समय सीमाअनुसार प्रतिनिधि सभा विघटन सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षा गरिरहेका वकिलले आज (बिहीबार) आफ्नो बहस टुंग्याउने छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीको पक्षमा बहस गरिरहेका अधिवक्ताले आज एक घण्टाभित्र आफ्नो बहस सक्नुपर्ने भएको हो।

यसअघि प्रधानन्यायाधीश राणाले प्रतिनिधि सभासम्बन्धी बहस सक्नुपर्ने म्याद माघ ३० सम्म तोकका भए पनि त्यस दिन (भोलि शुक्रबार) सोनाम ल्होछारको सार्वजनिक बिदा परेकाले बहस आजै टुंग्याउनुपर्ने भएको हो।

प्रधानमन्त्री ओली पक्षका अधिवक्ता रमेश बडालले इजलासले तोकेकै समयमा बहस सकिने बताएका छन्। ओलीका तर्फबाट बुधबारसम्म महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसहित ११ सरकारी र ३० निजी वकिलले बहस गरेका छन्।

प्रधानमन्त्रीको प्रतिरक्षामा बुधबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, अन्जन न्यौपाने, माधवकुमार बस्नेत, रमेश गुरागाईं, श्रीधर पुडासैनी, देवी रेग्मी, कृष्णकुमार आङ्दम्बे, विजयप्रसाद मिश्रलगायतले बहस गरेका थिए।

अब आज प्रधानमन्त्री ओली पक्षका अधिवक्ताले एक घण्टाभित्र आफ्नो बहस टुंग्याउनेछन्। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन्। यो बहस पनि आजै सक्ने बताइएको छ।

प्रतिनिधि सभा विघटनसम्बन्धी बहस फागुन पहिलो साताभित्र सक्ने योजना सर्वाेच्च अदालतको छ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते चुनाव गराउने घोषणा गरेकी हुन्। उक्त कदम असंवैधानिक भएको भन्दै परेका रिटबारे संवैधानिक इजलासमा पक्ष र विपक्षमा बहस भइरहेको हो।

साथै संसद् विघटनविरुद्ध अहिले नेकपाकै प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत आन्दोलनमा छन्।

संसद् विघटन संवैधानिक कि असंवैधानिक के ठहर होला भन्ने विषयमा आम नागरिकको नजर अहिले सर्वाेच्च अदालततिर छ। सबै प्रक्रिया पूरा गरी अदालतले फागुनको दोस्रो सातासम्म फैसला सुनाउने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad