फ्रान्सले अणविक हतियार तैनाथ भएको पनडुब्बीसहित यस जलक्षेत्रमा गस्ती गरेपछि चीनमाथि थप चुनौती बढेको हो।
फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले सोमबार साँझ आणविक हतियार तैनाथ भएको पनडुब्बीसहित आफ्ना सेनाले दक्षिण चीन सागरमा गस्ती गरेको बताएकी छिन्।
अन्तर्राष्ट्रिय कानुनले जहाँ–जहाँसम्म स्वीकृती दिन्छ त्यहाँसम्म आफ्नो देशको जहाज पुग्ने पनि उनले बताएकी छिन्।
उनले भनेकी छिन्,‘हाम्रो रणनीतिक साझेदार अष्ट्रेलियाला, अमेरिका र जापानसँगै हामी धेरै टाढासम्म पनि हाम्रा नौसेना तैनाथ गर्ने क्षमता राख्छौं भन्ने यो उल्लेखनीय प्रमाण हो।’
इन्डो–प्यासिफिक क्षेत्रमा फ्रान्सको विशेष आर्थिक क्षेत्र रहेको बताउँदै रक्षामन्त्री पार्लीले यस क्षेत्रको सार्वभौमिकता र रुची रक्षा गर्न आफूहरु तत्पर रहेको बताएकी छिन्।
फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्ली
अमेरिकाले पनि फ्रान्सलेझैं खुला र स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रको लागि दक्षिण चीन सागरमा चीनको दाबी नमान्ने बताउँदै आएको छ।
दक्षिण चीन सागर पुरै आफ्नो भएको दाबी गर्ने चीनले यस क्षेत्रमा अमेरिका लगायत मूलुकको उपस्थितीलाई आन्तरिक विषयमाथिको हस्तक्षेपको रुपमा लिँदै आएको छ।
चीनले दाबी गर्ने यस सागरबाट वर्षेनी खरबौं डलरको कारोबार हुने गर्दछ। यो जल व्यापारको प्रमुख मार्ग हो।
चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।
तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।
ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।
अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ। यसबीचमा फ्रान्स पनि अमेरिकाको साथ दिन आइपुगेको हो।
यसअघि नै अस्ट्रेलिया, जापान र भारतले यस सागरमा चीनको दाबी अवैधानिक भन्दै आएका थिए।
अन्तर्राष्ट्रिय अदालतले पनि सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो। एससीएमपी

प्रतिक्रिया