नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाव दिएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उनको नेकपासँग कुनै सम्बन्ध नभएको दाबी गरे।
उनले भने, ‘चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुरा भएन। केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौं। पार्टीको साधारण सदस्यबाट पनि बर्रखास्त गरिसकेका छौं। उनको अब नेपाल कम्युनिष्ट पार्टी नेकपासँग कुनै सम्बन्ध रहेको छैन। उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ। नेकपा मन परेको छैन भने अर्कै ओलीवादी समूह खोल्यो भने हुन्छ। ओली बा समूह खोल्दिए सबभन्दा राम्रो। ओली बालाई मन पराउनेहरु उतै जान्छन्। जहाँ नेकपा पार्टी छ, जहाँ हामी छौं, त्यहाँ सूर्य चिन्ह आउँछ। अरु कसैले खोस्न सक्तैन।’
उनले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरेपनि पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उनले आफूहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्धको संघर्ष भएको स्पष्ट पारे। उनले अहिलेको संघर्षलाई ओली र आफूहरुबीचको निजी लडाईंको रुपमा नलिई ओली प्रवृत्ति विरुद्धको लडाईंको रुपमा बुझ्न आग्रह गरे।
उनले भने, ‘अहिलेको लडाईं केपी ओली प्रवृत्ति विरुद्धको लडाईं हो। केपीको नयाँ नयाँ अवतार चाहिएको छैन। केपीको नयाँ नयाँ अवतार आयो भने के होला यो देशमा? थिलो थिलो भएर सकिन्छ। अहिले हामी लागेका छौं। केपी ओलीको प्रतिगमन विरुद्धको संघर्षमा। संविधान मिच्ने उनका कदमका विरुद्धमा र संविधान मासेर उनले संबैधानिक शासनलाई जसरी चुनौति दिएका छन्, यसले आजसम्म प्राप्त गरेका उपलब्धिहरु तहसनहस हुने खतरा बढेको छ। त्यसैले ती उपलब्धीहरु जोगाउने कुराको पक्षमा जुधिरहेका छौं। केपी ओली र आफूहरुबीचको निजी लडाई नभई यो पार्टी भित्रको लडाईं मात्रै पनि होइन, नेकपाको अन्तरद्वन्द्व मात्रै पनि होइन। संविधानलाई सम्मान गर्ने र क्षत्विच्छेद पार्ने बीचको लडाई हो।’
लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउने बीचको संघर्ष भएकाले जसरी पनि आफुहरुले जित्नै पर्ने भन्दै उनले लोकतन्त्र र संविधान रक्षाको पक्षमा एकजुट हुन आव्हान गरे। शिक्षकले विचार निर्माण र प्रवाहमा निकै ठूलो भूमिका खेल्ने भएकाले संविधान रक्षा गरि प्राप्त उपलब्धि जोगाउने बाटोमा विचार निर्माण गर्न पनि उनले आग्रह गरे।

प्रतिक्रिया