खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं आउनुअघि मन्त्री नफेरिने दाबी गरेकी छन्।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले मेलम्ची सुरु भएदेखि अहिलेसम्म २४ पटक मन्त्री फेरिएपनि अब भने नफेरिने जिकीर गरिन्।
संसदमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गतिमा अघि बढाउने बताइन्। ‘मेलम्ची आयोजना सुरु हुँदादेखि अहिलेसम्म २४ औँ पटक मन्त्री फेरिएको कुरा एक जना माननीयज्यूले गर्नुभएको छ ।’ उनले भनिन्, ‘अब २५ औँ पटक मन्त्री नफेरियोस्। हामी त्यही स्पीडमा काम गर्दैछौँ। मेलम्चीको सन्दर्भमा अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा छौँ। काम छाडेर हिंडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका छैन। त्यो कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण अरु देशमा पनि उसका आयोजनाहरु अलपत्र परेको समाचार माननीय ज्यूहरुले हेरेर बुझिदिनुपर्यो।’
मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पुर् याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताइन्।
देशैभरि खानेपानीको सुनिश्चितता गर्न मन्त्रालयले थोक वितरण प्रणालीको रुपमा नदीहरुको डीपीआर तयार पार्ने कार्य यसै आर्थिक वर्षमा गर्ने मन्त्री मगरले जानकारी दिइन्। उनले खानेपानीको क्षेत्रमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाएर काम अगाडि बढाईरहेको स्पष्ट पारिन्।

प्रतिक्रिया