विगत तीन दिनयता ओरालो लागेको सेयरबजारमा आज २.७५ अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार सूचक आज उक्त अंकले हरियो हुँदा नेप्से १२४८.४८ अंकमा थामिएको छ। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ८६ अंकले बढेको छ।
कुल १ सय ७२ कम्पनीको कारोबार भएको दिन आज ११ लाख कित्ता सेयर बिक्री भएका छन्। बिहान ११ बजेयता अपराह्न ३ बजेसम्म ५ हजार ४ सय १३ पटकको सेयर खरिदबिक्रीबाट ३६ करोड ८६ लाखको सेयर कारोबार भएको छ। आज बजार पुँजीकरण १५ खर्बको र तरल बजार पुँजीकरण ५ खर्ब ६७ अर्बको भएको नेप्सेले जनाएको छ। १२ समूहको कारोबार भएको दिन आज ऊर्जा, विकास बैंक र म्युचुअल फन्डको कारोबार सूचक रातो छ भने अन्य सूचकहरु हरियो छन्।
कारोबारका आधारमा आज सबैभन्दा बढी कृषि विकास बैंकको २ करोड ४५ लाखको, एनसीसी बैंकको २ करोड ३६ लाखको, नेपाल बैंकको १ करोड ९६ लाखको, प्रभु बैंकको १ करोड ६७ लाखको, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ५४ लाखको सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
कमाइको आधारमा भने आज नेपाल एग्रो लघुवित्त वित्तीय संस्था अगाडि छ। आज कम्पनीका सेयरधनीले ७९ रुपैयाँ अर्थात् १० प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४८ रुपैयाँ प्रतिकित्ता आम्दानी गर्दा स्पर्श लघुवित्तका सेयरधनीले पनि सोही परिमाणमा कमाएका छन्। आज स्वाभिमान लघुवित्तका सेयरधनीको हातमा पनि ५६ रुपैयाँ प्रतिकित्ता आम्दानी हात परेको छ।
गुमाउने कम्पनीमा भने साञ्जेन जलविद्युत् कम्पनी अगाडि छ। यसका लगानीकर्ताले आज २६ रुपैयाँ अर्थात् ९.९६ प्रतिशत गुमाएका छन्। नेप्सेका अनुसार रसुवागाढी हाइड्रोपावरका सेयरधनीले पनि सोही परिमाणमा गुमाएका छन्।

प्रतिक्रिया