राजनीति


प्रचण्डले भनेः केपी ओलीले जित्ने ठाउँ नै छैन, हाम्रो जितलाई कसैले रोक्न सक्दैन

प्रचण्डले भनेः केपी ओलीले जित्ने ठाउँ नै छैन, हाम्रो जितलाई कसैले रोक्न सक्दैन

नेपालखबर
माघ २६, २०७७ सोमबार ९:१४,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिक्रान्तिको वकालत गरेकाले उनले अब जित्ने ठाउँ नै नभएको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीको प्रतिक्रान्तिविरुद्ध एक भएर वैचारिक र राजनीतिक आन्दोलनमा लाग्न शिक्षकहरुलाई आग्रह गरेका हुन्।

उनले एकता प्रक्रिया र महाधिवेशन दुवै नभएर पार्टी विभाजन भएको बताए। पार्टी एकीकरणका कुनै पनि जनवर्गीय संगठनले पूर्णता नपाएको उनले बताए।

‘प्रवृत्तिको लडाइँ अगाडि आउनु थियो, आयो, केपी ओलीले गलत प्रतिक्रान्तिको वकालत गर्नुभयो, उहाँले जित्ने कुनै ठाउँ नै छैन।’

आफूहरु शान्ति समृद्धिको पक्षमा उभिएकोले आफूहरुले पाउने जित कसैले रोक्न नसक्ने उनले बताए। उनले अहिले भइरहेको आन्दोलन र संघर्ष पदप्राप्तिको नभएको समेत बताए।

कार्यक्रममा उनले भने, ‘पार्टी एकता भएर देशमा एउटा नयाँ भरोसा, ऊर्जा, उत्साह पैदा भएको थियो। निर्वाचनमा एउटै घोषणापत्रसहित दुईवटा कम्युनिस्ट पार्टी चुनावमा जाँदा सबैमा नयाँ ऊर्जा, उत्साह पैदा भएको थियो।’

जनतामा समेत एकीकृत कम्युनिस्ट पार्टीले २५÷३० वर्ष नेतृत्व गर्छ र विकास समृद्धिको युग सुरु हुन्छ भन्ने भरोसा पैदा भए पनि पार्टी विभाजन भएको उनको भनाइ छ।

‘चुनावको बेला जनताले पार्टी एकताको संकल्पलाई अनुमोदन गरेको थियो’, उनले भने, ‘तर दुर्भाग्य ३ महिनामा सक्ने भनेको पार्टी एकता प्रक्रिया ३ वर्षमा सकिएन, २ वर्षमा गर्ने भनिएको महाधिवेशन भएन। उल्टो पार्टी विभाजन भएको छ। सोच्दै नसोचेको सामना गर्नुपरेको छ।’

असाधारण परिस्थितिमा बोलाइएको परिषदको बैठक भएकाले यो अगुवा नेता, शिक्षकहरुको जमघट भएको बताए।

उनले भने, ‘पार्टीको तर्फबाट ठीक समय रोजेर महत्वपूर्ण बैठक आयोजना गर्नुभएको छ। महत्वपूर्ण निर्णयसहित यो समयमा योगदान पुर्याउनुहोला।’

नेपालमा राजनीतिक आन्दोलन सामान्य रुपले र विशेष रुपले कम्युनिष्ट आन्दोलनलाई सफल पार्नुमा शिक्षकको भूमिका रहेको बताउँदै उनले आफैँले पनि ३ वर्ष शिक्षण पेसा गरेको बताए।

नेपालमा दुवै आन्दोलन शिक्षकको योगदानबाटै स्थापित भएको प्रचण्डको भनाइ छ।

उनले युद्धपीडित शिक्षकलाई पुनर्बहाली गर्न आफू प्रधानमन्त्री हुँदा काम गर्न खोजेको बताए। आफूले शिक्षकहरुको सेवा सुविधालगायतका विषयमा क्याबिनेटमा लगेको फाइल समेत थन्किएको दाबी गरे।

‘यथार्थ के हो भने केपी ओली नै शिक्षा क्षेत्रमा सुधार गर्न रोक्ने मान्छे हुन्’, शिक्षामन्त्री गिरिराजमणिमार्फत पटक पटक सुझाव दिएको बताउँदै उनले भने, ‘सुझाव र प्रतिवेदन पठाइएका हुन्, हामीले केही नगरेको, वास्तै नगरेको होइन।’

उनले अहिले केपी ओलीबाट गणतन्त्रविरुद्ध जो प्रहार भएको बताउँदै त्यसलाई परास्त गर्न एक भएको बताए।

‘हाम्रो सरकार भएको बेला हामीले प्रस्तुत गरेका प्रतिवेदन प्रतिगमनविरुद्ध विजय पाएपछि कार्यान्वयन गर्नेछौँ’, प्रचण्डले भने।

उनले शिक्षकलाई पार्टीले सोचेभन्दा एक कदम अघि बढेर धेरै गरेको तर राज्यले शिक्षकलाई जति गर्नुपर्ने हो त्यो नगरेको बताए।

पार्टी एकता भइसकेपछि जनसंगठन एकता गर्ने बेला शिक्षकबारे केपी ओलीसँग धेरै बहस भएको प्रचण्डले सुनाए।

शिक्षकलाई पार्टीको राजनीतिमा राख्नुहुँदैन भन्ने प्रवक्ता केपी ओली नै हो, तर त्यो ठगी नै हो’, प्रचण्डले भने, ‘उहाँले आफैँले अहिले शिक्षकहरुलाई पार्टीमा राख्नुभएको छ।’

शिक्षकसँग, बुद्धिजीवीसँग केपी ओली तर्सिने गरेको उनले बताए। शिक्षकहरु अन्धभक्त हुँदैनन्, उनीहरु सत्य, न्याय र प्रगतिको पक्षमा हुने भएकाले शिक्षकलाई ओलीले विचारबाट बाहिर राखेको बताए।

आफूले सधैँ शिक्षकलाई राजनीतिक प्रशिक्षण दिन जोड गरेको प्रचण्डको भनाइ छ। आफूले प्रधानमन्त्री ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री बन्नुस् तर मलाई पार्टी चलाउन दिनुस् भनेको तर केपी ओलीले नमानेको गुनासो गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad