विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्या घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।
आइतबार विज्ञप्ति प्रकाशित गरी विवेकशील साझाले भनेको छ, ‘हत्या हुनुअघि बलात्कारको आशंका गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग विनम्र अनुरोध गर्दछौँ।’
न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा ऐक्यवद्धता प्रकट गर्दै विवेकशीलले यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा सम्बन्धित अधिकारीहरूलाई सचेत गराएको छ।
‘सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ’ प्रवक्ता शरदराज पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न आग्रह गर्दछ।’

प्रतिक्रिया