प्रस्तावित नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया सुरु भएको छ। तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली तथा अन्य सहकारीकर्मीले सहकारी विभागमा फाइल पेश गरी दर्ता प्रक्रिया सुरु गरेका हुन्।
फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो।
प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पूर्ण कागजातसहित प्रक्रिया पूरा गरी बैंक दर्ता गर्न ५ सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरे।
फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिए।
उनले भने, ‘विधिवत् रुपमा फाइल बुझेका छौँ, अपुग भएमा फेरि कागजात मागेर प्रक्रिया थाल्नेछौँ। दर्ता प्रक्रियामा विभागले सहयोग गर्नेछ।’
बैंक दर्ताको लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो। दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए। बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अर्ब पुँजी तयार भएको प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए।
उनले आजबाट विधिवत् रुपमा बैंक दर्ता प्रक्रिया अघि बढेको जानकारी दिए।
उनले भने, ‘विभागले फाइल अध्ययन गरी प्रक्रिया सुरु गर्नेछ। बैंक दर्ताको लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ। ऐनअनुसार बैंकको स्वीकृति नेपाल राष्ट्र बैकले दिनेछ।’
यही माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले सम्पूर्ण प्रक्रिया पूरा गरी दर्ता प्रक्रिया अघि बढाएको थियो।
भेलालगत्तै ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालन समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिसकेको छ।
प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले अब बैंक सञ्चालन प्रक्रिया अघि बढिसकेको प्रतिक्रिया दिए।
देशभरका करिब १ हजार सहकारी संस्था रहेको बैंक दर्तासँगै राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिने बताए। विभागले स्वीकृति दिएलगत्तै राष्ट्र बैंकबाट सहकारी क्षेत्र समेट्ने गरी दोस्रो सहकारी बैंक स्थापना हुनेछ।
दर्ता प्रक्रिया अघि बढाउन सबै सञ्चालक विभाग पुगेका थिए। प्रस्तावित बैंकको बैठकले बिहीबार २५ सदस्यीय सञ्चालक र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको थियो।
दर्ता प्रक्रिया पूरा गर्न फाइलसहित विभाग पुगेका बैकका अध्यक्ष भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैकको ऐनमा सहकारी बैक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, विना धितो ठूलो रकम प्रवाह गर्नु, बैंक सञ्चालनमा राजनीति हावी हुनु, कर्जा लगानीमा विभेद गर्नुलगायतका कारणले नयाँ बैंकको आवश्यकता महसुस गरी दर्ता गरेको जानकारी दिए।
उनले प्रक्रिया सुरु भइसकेको अवस्थामा यसलाई अन्य कसैले रोक्न नसक्ने जिकिर गरे।
उनले भने, ‘आजबाट दर्ता प्रक्रिया सुरु भयो, अब कसैले रोक्न सक्दैन।’
उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैंक दर्ता प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनले भने, ‘करिब एक वर्ष अघिदेखि प्रक्रिया सुरु गरेका थियौँ, अब दर्ता प्रक्रिया सुरु गर्नेछौँ।’
उनले प्रारम्भिक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्थाका एक हजारभन्दा बढी सदस्य संस्थाको फाइल विभागमा बुझाइएको जानकारी दिए।
प्रस्तावित बैंकको सञ्चालक समितिमा झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्रप्रसाद जयसवाल र विनोद कुमार दत्त, भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुवराज पौडेल, स्याङ्जाबाट केशव प्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा चयन भएका छन्।
काठमाडौंबाट शम्भुप्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्रप्रसाद पौडेल र दिलिप पौडेल सदस्य छन्।
यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरदकुमार महर्जन, शशि खड्का र विनोद डंगोलले समितिमा प्रतिनिधित्व गरेका छन्।
Shares

प्रतिक्रिया