प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सकारको प्रयासमा अवरोध सिर्जना गर्ने काम भएको बताएका छन्।
भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्वाारा काठमाडौंमा बुधबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव कुमार नेपालले सुकुम्बासी समस्या समाधान गर्ने सकारको प्रयासमा बाधा पुर्याएको बताएका हुन्।
माधव कुमार नेपाललाई भूमि व्यवस्था समाधान हुन नदिने नेताको संज्ञा दिदै उनले पार्टी छोडेर गएपछि मात्रै आयोगले काम गर्न थालेको दाबी गरे।
उनले भने, ‘अघिल्लो पटक म प्रधानमन्त्री हुँदा समस्या समाधान गर्न खोजियो। माधव नेपालले आफ्नो एउटा समर्थक वकिललाई लगाएर मुद्दा लगाएर लच्चिएको लच्चियै काम हुन पाएन। भूमि व्यवस्था समाधान हुन नदिने। एउटा हाजिरी जवाफ प्रतियोगिता जस्तो चलाईहालुँ। तपाईहरुलाई म सोध्छु। सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरु मध्येको मुख्य नेता को हो? माधव नेपाल। बनेको आयोगलाई काम गर्न नदिएर एउटा नवलपरासीको सुकुम्बासी मानसिकताको वकिलले मुद्दा हालेर त्यो आयोगले काम गर्न पाएन। र यसपटक फेरि हामीले आयोग बनाउनुपर्यो। यो आयोग बनाउन थालेको लगभग ३ वर्ष भयो। पार्टी छोडेर माधव नेपाल ‘पाटी’तिर गएपछि बल्ल आयोग पुरा भयो।’
प्रधानमन्त्री ओलीले माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले सरकारलाई काम गर्न नदिएको भन्दै उाीहरुलाई ‘छलफलवाला मान्छे’ को संज्ञा दिए।
उनले भने, ‘माधव नेपाल र नारायणकाजी भन्ने दुई जना मान्छे पार्टीमा थिए। तीनीहरु सँधै छलफल हुनुपर्छ भन्ने। जतिबेला पनि छलफल हुनुपर्छ भन्ने। छलफलवाला मान्छे मैले नेपालमा भेटाएको ३ जना मान्छे। एउटा माधव नेपाल, अर्को नारायणकाजी श्रेष्ठ, अर्को घनश्याम भुसाल। जहिले जे मा पनि छलफल हुनुपर्छ। छलफल गर्नुपर्छ। सुकुम्बासी आयोग बनाउँ। छलफल गर्नुपर्छ। बनायो। किन बनाईयो? छलफल हुनुपर्छ। पुर्णता दिउँ। छलफल हुनुपर्छ। प्रतिनिधि मागौँ। होइन छलफल हुनुपर्छ। छलफलवाला मान्छेहरुले पार्टी छोडे पाटीतिर लागे। तिनीहरुको पाटीको बास हुन थालेपछि आयोग बन्यो। पूर्णता पाएको छ। काम बन्छ।’
उनले पार्टीमा सुद्धिकरण आवश्यक रहेको र सुद्धिकरण आवश्यक रहेकाहरु आफै किनारा लागेको बताए। पार्टी छोडेर पाटीमा गएकाहरुले आफ्नो अभिष्ट पुरा गर्न नेपाल बन्द गरेर जनतालाई दुख दिने काम गरेको बताए।
उनले भने, ‘उनीहरु किन छटपटाएका छन्? नेपाल बन्द रे? जनताले के बिगारेको थियो र? जनतालाई किन दुख दिनुपर्यो नेपाल बन्द गरेर? पार्टी छोडेर आफूहरु पाटीमा लाग्छन। अनि बन्द गरेर जनतालाई दुख दिने? बन्द भन्या के? हिडडुल गर्न नपाउने। बन्द भन्या के? पसल खोल्न नपाउने। किन्न जान नपाउने। पढ्न जान नपाउने। बन्द भनेको जनतालाई दुख दिने। त्यो किन गर्नुपरेको छ? के का लागि गर्नुपर्यो बन्द?’
आफूलाई कम्युनिष्ट र क्रान्तिकारी भन्नेहरु नै आफ्नै पार्टीलाई धुलो बनाएर अरुसँग घुँडा टेक्न पुगेको टिप्प्पणी प्रधानमन्त्रीले गरे।
उनले भने, ‘अस्ति माधवकुमार नेपाल शेरबहादुर देउवाजीकोमा गएका थिए। रामका अगाडि हनुमान घुँडा टेकेर बसे जसरी बसेका थिए। अब २ वर्षको प्रधानमन्त्री तपाई नै हो। तपाईलाई नै दिन्छौ। २ वर्षको प्रधानमन्त्री खानुहोस्। लेखेर दिन्छौ क्या लेखेर दिन्छौ। सही गरेर दिन्छौ। अनि क्रान्तिका गफ गरेछन् बाहिर निस्केर। कम्युनिष्ट पार्टी धुलो पार्न खोज्ने अनि अन्त गएर घुँडा टेकेर, प्रणाम गरेर, लिखित दिन्छौ भनेर, ल्याप्चे लगाएर क्रान्तिकारीताको गफ दिने? उहाँहरु जे हो त्यही प्रकट हुँदैछ। जे हो त्यही देखिदै छ। मखुण्डो खुईलियो। मौन भएको थियो मखुण्डो खुईलियो।’
प्रधानमन्त्रीले शुक्रबारको सभामा आउन सबैलाई निम्तो पनि दिए।

प्रतिक्रिया