सर्वोच्च अदालतले नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश दिएको छ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो। आदेशमा प्रचण्डलाई सात दिनभित्र अवहेलनामा किन कारबाही नगर्ने हो लिखित जवाफ पेश गर्न भनिएको छ।
सोमबार प्रचण्डविरुद्ध समिर हायूले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए।
यसअघि प्रधानमन्त्री केपी ओलीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको रिट निवेदनको सुनुवाइ पनि शर्माकै इजलासमा भएको थियो।
माघ १५ गते उनीहरु सबैसँग अदालतले सात दिनभित्रमा लिखित जवाफ माग गरेको छ।
संसद् विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ भइरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको हायूले रिट निवेदनमा उल्लेख गरेका थिए।
प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा संसद् विघटनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।
प्रचण्डविरुद्धको मुद्दामा मंगलबार नै पेशी तोकिए पनि सुनुवाइ भने हुनसकेको थिएन।

प्रतिक्रिया