ad ad

राजनीति


म्यानमारमा सेनाले सत्ता हत्याएपछि राज्यसञ्चालनको शक्ति सेना प्रमुखलाई, इन्टरनेट र टेलिफोन काटियो

म्यानमारमा सेनाले सत्ता हत्याएपछि राज्यसञ्चालनको शक्ति सेना प्रमुखलाई, इन्टरनेट र टेलिफोन काटियो

नेपालखबर
माघ १९, २०७७ सोमबार ६:४०,

सेना प्रमुख मिन अङ लाइङले एकवर्षसम्म राज्यसञ्चालनको जिम्मा पाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सोमबार मात्र एक वर्षका लागि संकटकाल घोषणा गर्दै त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएर सैन्य ‘कू’ गरेका थिए।

बीबीसीका अनुसार यतिबेला प्रमुख सहरहरूमा इन्टरनेट र केही फोन सेवाप्रदायकको उपलब्ध सेवाहरूअवरुद्ध भएका छन्।

सरकारी टेलिभिजन एमआरटीभीले प्राविधिक कारणले आफ्नो प्रसारण बन्द गरिएको जनाएको छ।

राजधानीसँगको सञ्चार सम्बन्ध विच्छेद भएको छ। त्यहाँको अवस्थाबारे केही थाहा हुन नसकेको बताइएको छ।

बीबीसी वर्ल्ड न्यूज टेलिभिजन र अन्य विदेशी टीभीलाई अवरुद्ध गरिएको छ भने स्थानीय टीभी स्टेशनहरूले आफ्नो प्रसारण बन्द गरेका छन्।

यस्तै केही स्थानमा एटीएम चल्न छोडेको छ भने ब्याङ्कहरू अर्को सूचना प्रकाशित नभए सम्मका लागि बन्द हुने जनाइएको छ।

म्यानमारमा सैन्य कू भएसँगै संयुक्त राष्ट्रसंघले विरोध जनाएको छ। अमेरिकाले म्यानमार सेनाको उक्त कदमको विरोध गर्दै सैन्य कू फिर्ता लिन र आङ सान सुची र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई रिहा गर्न भनेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले भनेको छ,‘हालैको चुनावको नतिजा बदल्ने कदम अथवा म्यानमारको प्रजातान्त्रिक संक्रमणमा बाधा ल्याउने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्दछ र यी कदमहरु उल्ट्याइएन भने जिम्मेवारहरु विरुद्ध कारवाही गरिनेछ।’

‘हामी सेना र अन्य सबै पक्षहरुलाई प्रजातान्त्रिक मान्यता र कानूनको पालना गर्न र आज पक्राउ गरेकालाई रिहा गर्न आग्रह गर्दछौं’ विज्ञप्तीमा भनिएको छ।

लामो समय सैन्य शासन झेलेको म्यानमारमा फेरि सैन्य शासन लागू भएको हो। यसअघि म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैन्य शासन थियो।

म्यानमारको सरकारी टेलिभिजनका अनुसार निर्वाचन परिणाम अस्वीकार गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको हो।

गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी एनएलडीले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .