प्रदर्शनमा उत्रिएका हजारौं प्रदर्शनकारीमध्ये आइतबार १४० जनालाई प्रहरीले गिरफ्तार गरेको बीबीसीले जनाएको छ।
पक्राउ परेकामध्ये नभाल्नीकै श्रीमती युलिया पनि रहेको बताइएको छ। नभाल्नी रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक मानिन्छन्।
उनको गिरफ्तारीसँगै नभाल्नीले पुटिनले भ्रष्टाचार गरेको भन्दै बनाएको भिडिओ सार्वजनिक भएको थियो।
उक्त भिडियोमा पुटिनले कालोधनबाट आफ्नो लागि दरबार बनाएको आरोप लगाएका छन्। उक्त आरोपको पुटिनले खण्डन गरिसकेका छन्।
पुटिनका कट्टर आलोचक मानिएका विपक्षी नेता एलेक्सी नभाल्नीलाई गत जनवरी १७ मा स्वदेश फर्कना साथ गिरफ्तार गरिएको थियो।

सन् २०१४ मा नभाल्नीमाथि कालोधनलाई वैध बनाउने कार्यमा संलग्न भएको आरोप लागेको थियो।
उक्त जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई ३० दिनका लागि हाल थुनामा राखिएको हो।
गतवर्ष नभाल्नीलाई हत्या गर्नका लागि उनलाई विष खुवाइएको थियो। तर जर्मनीमा उपचार पाएपछि उनको ज्यान जोगिएको थियो।
पुटिनकै आदेशमा आफूमाथि हत्या प्रयास भएको नभाल्नीको आरोप रहेको छ। सोही उपचारपछि यसै महिना नभाल्नी रुस फर्किएका थिए। रुस आइपुग्नासाथ उनलाई गिरफ्तार गरेर हिरासतमा राखिएको छ।
हाल नभाल्नीको रिहाईको मागसहित रुसमा हजारौंको प्रदर्शन हुन थालेपछि पुटिन नैतिक संकटमा परेको विश्लेषण गरिन्छ।
यसअघि गतहप्ता पनि हजारौंले नभाल्नीको रिहाईको माग गर्दै प्रदर्शन गरेका थिए। त्यसबेला २ हजारभन्दा बढी गिरफ्तार भएका थिए।
Shares

प्रतिक्रिया