प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटमा तान्न पूर्वमाओवादी लडाकुप्रति ‘गोहीको आँसु’ चुहाएको टिप्पणी गरेका छन्।
यसअघि पूर्वजनमुक्ति सेना, अयोग्य लडाकु र सहिदका परिवारले लामो समय आन्दोलन गर्दा तथा उनीहरूको न्यायका लागि पार्टीमा पटकपटक छलफल हुँदा र आफूले मन्त्रिपरिषदमा लगातार ३ वर्ष प्रयास गर्दा भने प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनुवाइ नगरेको तर अहिले आफ्नो समूहमा तान्न लोभ देखिएको उनको दाबी छ।
गृहमन्त्री बादलले घाइतेहरूले पाइरहेको जीवनवृत्ति भत्तासमेत खोसेको नेता पुनको आरोप छ। ‘बादलजीले ७५ प्रतिशतभन्दा बढी घाइतेलाई उपलब्ध गराइँदै आइएको १२ हजार ४ सयबाट कटाएर ६ हजार २ सयमा झार्नुभयो। ६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो,’ शनिबार अर्घाखाँचीको सन्धीखर्कमा आयोजित भेलामा उनले भने।
पूर्वमन्त्रीसमेत रहेका पुनले अगाडि भने, ‘मैले धेरैपटक सहजीकरण गरें। हुन्छ हुन्छ भन्दै काम गर्नुभएन। हिजो प्रचण्डले हेरेन भनेर ठूला कुरा गरेको हामी सुन्छौं। तीन वर्षसम्म घचघच्याउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौं भनेर भाषण गरेको सुनेका छौ।’
डा. बाबुराम भट्टराई प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेकै बेला बहिर्गमित लडाकुहरूका लागि २ लाख रुपैयाँको राहत प्याकेज घोषणा गर्दा अहिले ओली समूहमा रहेकाहरूले नै सर्वोच्च अदालतमा रिट दिएको र मुद्दा अझै फैसला नभएको पुनले बताए।
आफूले मन्त्रिपरिषदमै २००७ सालदेखि झापा आन्दोलन, कांग्रेसको मुक्ति आन्दोलन, ०४६ सालको आन्दोलन, जनयुद्ध र १९ दिने जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने माग राख्दा अस्वीकार गरिएको पनि पुनले सुनाए।
तर, अहिले आफू कमजोर भएपछि गुटमा तान्न पीडितहरूप्रति नक्कली सहनुभूति नदेखाउन र विचलित मानसिकताका साथ उनीहरूको भावनामा खेल्ने प्रयास नगर्न पनि नेता पुनले ओली समूहलाई चेतावनी दिए।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर जनताको अभिमतको अवहेलना गरेको भन्दै उनले अदालतले पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे। साथै निर्वाचन आयोगले आफूहरूलाई नै चुनाव चिह्न र दलको आधिकारिकता दिने दाबी पनि उनले गरे।
ओलीसँगै केही मानिस पार्टीबाट बाहिरिएको भन्दै केन्द्रीय समितिका ४ सय ४१ जनामध्ये ३ सयभन्दा बढीको समर्थन प्राप्त प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा मूलधार भएको दाबी उनले गरे।
‘केपी ओली जनताको अभिमतलाई लात हान्दै प्रतिगमनको मतियार बन्नुभयो, स्वेच्छाचारी र निरंकुश शैलीमा अघि बढ्नुभयो,’ पुनले भने, ‘ओलीसँगै पार्टीबाट केही नेता र कार्यकर्ता बाहिर निस्किएर राम्रो भएको छैन, तर कहिले काहीं यस्तै हुनेरहेछ।’
Shares

प्रतिक्रिया