प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीले निःशुल्क कोरोना खोप पाउने बताएका छन्।
बुधबार बिहान भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्।
‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताए। उनले पूर्ण रुपमा कोरोना नियन्त्रण नभएसम्म मास्क लगाउने हात धुने र सामाजिक दूरी कायम राख्नुपर्ने बताए ।
उनले कोरोनाको खोप उपलब्ध गराएकोमा भारत, भारतीय जनता र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली जनताको तर्फबाट धन्यवाद दिएका थिए।प्रधानमन्त्री ओलीले भारत सरकारसँग थप खोप किन्ने विषयमा कुरा भइरहेको बताए।
उनले कोरोना खोप नाफा र व्यापारको माध्यम हुन नहुने भन्दै धनी गरिव सबै देशको पहुँच हुनुपर्ने बताए। ‘कोरोनाविरुद्धको खोप नाफा कमाउने र व्यापारको विषय हुनु हुँदैन’, उनले भने, ‘यो खोप गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले सक्ने देशहरुले नसक्नेहरुलाई निःशुल्क रुपमा कोरोना खोप उपलब्ध गराएर सिंगो मानव जातिको कल्याण गर्नुपर्ने बताए।
याे पनि : खोप अभियान सुरु भए पनि मास्क लगाउन नछाड्नू : प्रधानमन्त्री
अभियान उद्घाटनलगत्तै पहिलो खोप काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाएका छन्।
पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई काेराेना खाेप दिइँदै छ।
भारतले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भनेको छ। अहिले पहिलो चरणमा ४ लाख ५० हजार डोज मात्र आइपुगेको छ। बाँकी अर्काे चरणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया