राजनीति


अरुणाचलमा चिनियाँ गाउँः गरिबी निवारण कार्यक्रम अन्तर्गत बस्ती बनाएको भनाइ

अरुणाचलमा चिनियाँ गाउँः गरिबी निवारण कार्यक्रम अन्तर्गत बस्ती बनाएको भनाइ

नेपालखबर
माघ ११, २०७७ आइतबार १३:३६,

यतिबेला चिनियाँ अधिकारीहरुले सरकारको गरिबी निवारण कार्यक्रम अन्तर्गत सो क्षेत्रमा बस्ती बसाएको बताएका छन्।

चिनियाँ सेना नजिकैको स्रोतलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा चीनले घरहरु खडा गर्नु गरिबी निवारण योजनाको उद्देश्य हो।

चिनियाँ अधिकारीहरुका अनुसार चीनले बस्ती निर्माण गरेको क्षेत्र तिब्बतको क्षेत्र हो। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले गत बिहीबार मात्र सबै विकास निर्माणको काम आफ्नै भूमिमा भएको बताएकी थिइन्।

एनडीटीभीले गत जनवरी १८ मा प्रकाशित गरेको समाचार अनुसार चीनले भारतको साढे ४ किलोमिटर जमिन अतिक्रमण गर्दै बस्ती बसाएको छ।

त्यो बस्ती गतवर्ष मात्र निर्माण गरिएको जनाइएको छ। यस क्रममा भारतको विदेशमन्त्रालयले सीमा अतिक्रमण गरेर चीनले बस्ती बसाएको खबरका बारेमा आफूहरु सजग भएको बताएको थियो।

एनडीटीभीले चीनले भारतीय सीमा मिचेको विषयलाई पुष्टि गर्न भूउपग्रहले खिचेको तस्बिरहरु पनि सार्वजनिक गरेको थियो।

तर चीनले भने भारतले प्रदेश मान्दै आएको अरुणाचल क्षेत्रलाई आफ्नो भूमि भएको दाबी गर्दछ। चीन अरुणाचल प्रदेशलाई आफ्नो दक्षिण तिब्बती क्षेत्र भएको बताउँछ।

चीनले निर्माण गरेको बस्ती अप्पर सुबानसिरी जिल्लास्थित सारी सु खोलाको किनारमा छ। सो क्षेत्रमा चीनले आफ्नो दाबी प्रस्तुत गरेपनि उक्त क्षेत्र आफ्नो भएको भारतको भनाइ छ।

गतवर्षको जुन महिनामा भारत र चीनका सेनाबीच विवादित मानिएको गलवान उपत्यकामा झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

उक्त समयदेखि चर्किएको सीमा विवाद हालसम्म समाधान भएको छैन।

यस क्रममा फेरि भारतले आफ्नो जमीन मानेको क्षेत्रमा चीनले बस्ती बनाएको खबरले द्वन्द्व थप चर्किने अनुमान गरिएको छ।

चीनले बस्तीहरु निर्माण गरेको विषयमा दिल्लीस्थित थिंक ट्यांक संस्था सेन्टर फर पोलिसी रिसर्चका प्राध्यापक ब्रम्हा चेलाने भन्छन्,‘बेइजिङले विवादित हिमालय क्षेत्रमा गाउँ निर्माणको गतिविधि बढाउनु आक्रामक विस्तारवादको प्रमाण हो।’

उनी भन्छन्,‘क्षेत्रीय दाबीलाई मजबुत बनाउन र अन्तर्राष्ट्रिय कानुनमा आधार बनाउन बस्तीहरु बसाउने योजना बनाइएको हो, तर यसमा हाल कानुनी अडानको अभाव छ।’

दक्षिण चीन सागर मोडलअनुसार नै चीनले भारत, भुटान र नेपालको भूमिमा दाबी गर्न थालेको ब्रम्हा चेलाने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad