प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाएका छन्।
आइतबार काठमाडौँमा आयोजित अपांगता भएका व्यक्तिहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले देशमा स्थिरता नचाहनेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको बताए।
‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छेहरु संविधान, लोकतन्त्र, देश र जनविरोधी हुन्’, उनले भने।
उनले देशमा अस्तव्यस्तता खडा गर्न, स्थिरता र स्थायित्व हुन नदिने, बहुमतको सरकार हटाएर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने षड्यन्त्र भएपछि आफूले प्रतिनिधि सभा विघटन गरेको बताए।
उनले संसदलाई जागिर सोचेर पाँचैवर्ष जागिर खान पाउनुपर्छ भन्ने संसद जागिर खाने थलो हो? भन्ने प्रश्न समेत गरे।
उनले आफू अस्थिरताको अन्त्य गर्नका लागि जनतामा जाने निर्णय गरेको र सांसदको कामको जनताले मूल्यांकन गर्ने बताए।
उनले अधिकार आफ्ना हातमा नलिएर जनतामा जाने फैसला गरेको बताउँदै आफू तानाशाह नभएको प्रस्ट पारे।
‘मैले आफ्ना हातमा लिएको छैन, आफ्ना हातमा लिएको भए तानाशाह हुन्थ्यो’, उनले भने, ‘तपाईंहरुका बीचमा गएर, तपाईंहरुले फैसला गर्नुहोस् भन्दा म तानाशाह भएँ?, मैले त फैसला गरेको छैन।’

प्रतिक्रिया