राजनीति


केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि निर्वाचनमा जाने निर्णय : मन्त्री ज्ञवाली

केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि निर्वाचनमा जाने निर्णय : मन्त्री ज्ञवाली

नेपालखबर
माघ ११, २०७७ आइतबार ५:३३,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको दाबी गरेका छन्।

उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताएका हुन्।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताए।

अहिले केही असहमति देखिए पनि यसलाई देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न परिस्थितिका रूपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोहीअनुरूप अघि बढ्नु पर्नेमा जोड दिए।

अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको लोकतन्त्र, संघीय शासन व्यवस्था, गणतन्त्र, विकासको जग र लोकतन्त्रवादी समाजवाद उन्मुख जग भत्कन्छ कि भनेर कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उनले जनताको अधिकार संस्थागत गर्ने दिशामा नै सरकार अघि बढेको दाबी गरे।

एक अर्को प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नेपालको विकास र समृद्धिको सहयात्री बन्न आग्रह गरे। उनले नेपालमा देखिएका असहमतिलाई लिएर गैर आवासीय नेपाली साह्रै बढी चिन्तित र विभाजित हुन नहुने बताए।

मन्त्री ज्ञवालीले नेपाल लगानी अनुकूल वातावरण भएको मुलुक भएको चिनारी विश्वलाई दिन गैरआवासीय नेपालीलाई त्यसअनुरूपको भूमिका खेल्न आग्रहसमेत गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad