ad ad

राजनीति


डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्ने!

डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्ने!

नेपालखबर
माघ ८, २०७७ बिहिबार १३:२९,

वाल स्ट्रिट जर्नलले ट्रम्पका नजिकैका सहयोगीहरुलाई उदृत गर्दै ट्रम्पले नयाँ पार्टी खोल्नेबारेमा सोच बनाएको उल्लेख गरेको छ।

गत हप्तादेखि ट्रम्पले आफ्ना नजिकैका सहयोगीहरुसँग धेरैपटक नयाँ पार्टी स्थापना गर्ने बारेमा छलफल गरेको बताइएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार उनले ‘देशभक्ति’लाई केन्द्रमा राखेर साथै आफ्नो ‘अमेरिका पहिलो’ नीतिलाई जोड दिएर पार्टी खोल्ने योजना बनाएका छन्।

समाचारका अनुसार ट्रम्पले पार्टीको नाम ‘पेट्रियट पार्टी’ राख्नेछन्।

गत जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा तोडफोड गरेपछि आफ्नै पार्टी रिपब्लिकनका नेताहरु उनीसँग रुष्ट छन्।

चुनावमा धाँधली गरेर जो बाइडेनले राष्ट्रपतिको निर्वाचन जितेको दाबीलाई नछाड्दा ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमै घुसेर आक्रमण गरेका थिए।

विश्वभरका नेताहरुले उक्त कार्यले अमेरिकी लोकतन्त्रको धज्जी उडाएको बताएका थिए।

यसै कारण तल्लो सदनबाट ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित भइसकेको छ। उनीमाथिको महाभियोगको पक्षमा उनकै पार्टीका सांसदहरुले पनि भोट गरेका थिए।

सिनेटको मतदानमा पनि ट्रम्पलाई उनका पार्टीका सिनेटरले साथ नदिने सम्भावना छ। केही सिनेटरहरुले ट्रम्पको खुलेरै विरोध जनाएका छन्।

सिनेटर मिच मककनेल ट्रम्पको रिपब्लिकन पार्टीमै आवद्ध छन्। तर उनले संसदमा आक्रमणको घटनापछि ट्रम्पले अमेरिकामा हिंसा भड्काएको आरोप लगाइरहेका छन्।

बुधबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिदाइ समारोहमा तत्कालिन उपराष्ट्रपति माइक पेन्स सहभागी भएका थिएनन्। पछिल्लो समयमा उनले पनि ट्रम्पको साथ छाडेका हुन्।

आफ्नै पार्टीबाट चौतर्फी आलोचना हुन थालेपछि उनले नयाँ पार्टी खोल्ने सोच बनाएको बताइएको छ।

बुधबार ह्वाइट हाउस विदा भएर ट्रम्प सिधै हेलिकप्टरमा म्यारिल्यान्डको जोइन्ट बेस एन्ड्र्यु पुगेका थिए।

त्यहाँ उनले अन्तिम विदाई समारोहमा सम्बोधन गर्दै आफू कुनै न कुनै रुपमा पुनः सरकारमा फर्किने बताएका थिए।

‘तपाइँहरुको राष्ट्रपति बन्न पाउनु सौभाग्यको कुरा थियो। म तपाइँको हितको लागि लागि सँधै संघर्ष गर्नेछु। मैले हेरिरहेको हुनेछु। मैले सुनिरहेको हुनेछ।’ ट्रम्पले अमेरिकी जनतालाई भनेका थिए,‘हामी कुनै न कुनै रुपमा फेरि फर्किनेछौं। सबैको जीवन उज्वल होस्। तपाइँसँग चाँडै भेट्नेछौं।’

उनले ‘कुनै न कुनै’ रुपमा फेरि सरकारमा आउने बताएका छन्। विश्लेषकहरुका अनुसार उनले नयाँ पार्टीबाट फेरि चुनाव लड्नसक्ने संकेत दिएको पनि हुनसक्छन्।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा फेरि लड्ने घोषणा गरिसकेका छन्।

यद्यपी उनीमाथि महाभियोग प्रस्ताव तल्लो सदनमा पारित भइसकेको छ। सिनेटमा मतदान हुन बाँकी छ।

सिनेटमा महाभियोग पारित भए ट्रम्पले अर्कोपटक चुनावमा लड्न पाउने सम्भावना कम हुनेछ। सिनेटमा ट्रम्पलाई महाभियोग लगाउन दुई तिहाइ मत चाहिन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .