प्रकाशित समाचारका विषयमा सञ्चारमाध्यमको नामै किटेर सर्वाेच्च अदालतले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनले पनि गम्भीर आपत्ति प्रकट गरेको छ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतका चार न्यायाधीशसँग गाेप्य भेट गरेकाे खबर नेपालखबर र रातोपाटीलगायत अनलाइनले प्रकाशन गरेपछि सर्वोच्चले गत शुक्रबार धम्कीपूर्ण विज्ञप्ति जारी गरेको थियो।
संसद् विघटनको मुद्दा हेरिरहेको अदालतबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी सञ्चारमाध्यम र सञ्चारकर्मीलाई ‘कानुनी कारबाही’ गर्ने धम्कीसहितको विज्ञप्ति जारी गरिँदा नागरिकमा आशंका पैदा भएको युनियनले उल्लेख गरेको छ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिता र कानुनको हवला दिएर सर्वाेच्च अदालतले सञ्चारमाध्यम र सञ्चारकर्मीहरूविरुद्ध चेतावनीपूर्ण भाषा प्रयोग गर्दै तर्साउन खोजेकोप्रति युनियनको गम्भीर असहमति छ। सम्मानित सर्वाेच्च अदालतबाट जारी भएको विज्ञप्तिको भाषा शैलीसँग आपत्ति जनाउँदै सञ्चारमाध्यमहरूको नामै किटेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने कार्यको युनियन खेद प्रकट गर्दछ।’
यस्ता गतिविधिलाई आफूले नियालिरहेको मात्र नभएर प्रेस स्वतन्त्रताका लागि प्रतिवादमा उत्रिनसमेत तयार रहेको चेतावनी पनि युनियनले दिएको छ।
हेर्नुहाेस्, प्रेस युनियनकाे विज्ञप्ति

यसअघि नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संघ/संगठनले यस विषयप्रति गम्भीर विराेध जनाइसकेका छन्।
याे पनि :
महासंघले भन्यो : सर्वोच्चको विज्ञप्ति प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हो
प्रेस संगठनले भन्यो : सर्वोच्चले सञ्चारमाध्यमको नामै किटेर ‘धम्कीपूर्ण’ अभिव्यक्ति दिनु खेदजनक

प्रतिक्रिया