छापा खबर


चीन सरकारले हिमाली १५ जिल्लामा पूर्वाधार विकास कार्यक्रम संचालन गर्दै

चीन सरकारले हिमाली १५ जिल्लामा पूर्वाधार विकास कार्यक्रम संचालन गर्दै

नेपालखबर
माघ ५, २०७७ सोमबार १:३,

उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम चालू आर्थिक वर्षमा मात्रै सञ्चालनमा आउने भएको छ । चीन सरकारको सहयोगमा गत आर्थिक वर्षमा सञ्चालन हुने भनिएको यो कार्यक्रममा दुई अर्ब रुपियाँ लगानी गरिने छ।

मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका वर्ग र समुदायलाई सार्वजनिक सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले नेपालको चीनसँग सीमा जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको खबर आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन्।

कोरोना भाइरस (कोभिड–१९)का कारण गत आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालन हुन सकेको थिएन । सरकारले गत आर्थिक वर्षकै बजेटमा उक्त कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । गत वर्ष सञ्चालन हुन नसकेपछि चीन सरकारले चालू आर्थिक वर्षमा सोही कार्यक्रमलाई निरन्तरता दिन लागेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले जनाएको छ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले चालू आर्थिक वर्षमा चीन सरकारकै आग्रहमा १५ जिल्लाका स्थानीय तह छनोट गरी चीन सरकारलाई प्रस्ताव पठाइएको जानकारी दिए। सम्बद्ध तीनवटा क्लस्टरमा विभाजन गरी १५ जिल्लाभित्रका पूर्वी, मध्य र पश्चिम क्षेत्रका कम्तीमा एउटा स्थानीय तहमा एउटा योजना सञ्चालन गर्नेगरी योजना छनोटको प्रस्ताव गरिएको छ।

‘चीन सरकारकै आग्रहमा यस वर्ष सञ्चालन गर्न सकिने योजनालाई मात्र प्राथमिकतामा राखेर चीन सरकारलाई पठाइएको छ । ती योजना चीन सरकारले निर्माण गरी नेपालका सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण हुनेछ,’ उनले भने।

प्रस्तावित योजनामा अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वाथ्य केन्द्र र प्रसूति सेवा केन्द्र, विद्यालयअन्तर्गत सामुदायिक विद्यालय, विद्यालयको छात्रावास भवन, स्थानीय तहभित्रका बस्ती, विद्यालय, स्वास्थ्य चौकी र बजार केन्द्र जोड्ने सडक, कृषि तथा सिँचाइतर्फ सौर्य ऊर्जा, लिफ्टिङ, सिँचाइ लगायतका भौतिक संरचना निर्माण हुँदैछन्।

कार्यक्रममा सहभागी सम्बद्ध जिल्लाहरूमा दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपालचोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ रहेका छन् । ती जिल्लाका १२६ स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले यो कार्यक्रम सम्पन्न भइसकेपछि चीनको सिमाना जोडिएका १५ जिल्लाका १२६ स्थानी तहको आर्थिक, सामाजिक र शैक्षिक विकासका साथै भौतिक पूर्वाधार प्रभावकारी बन्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad