राजनीति


अदालतलाई दबाब दिएकाे होइन, संविधान हेर्न अपिल गरेका हौँ : पौडेल

अदालतलाई दबाब दिएकाे होइन, संविधान हेर्न अपिल गरेका हौँ : पौडेल

नेपालखबर
माघ ३, २०७७ शनिबार १३:११,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने बताएका छन्।

नेपाली कांग्रेस भरतपुर महानगर समितिले शनिबार भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा बोल्दै नेता पौडेलले वैशाखमा निर्वाचन नहुने दावी गरे।

पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था आएको भन्दै निर्वाचन हुने भनेर ढुलमुले नीति लिन नहुने बताए। ‘असंवैधानिक कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ’, उनले भने।

आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ थियो।

‘संविधानको व्याख्या गर्ने न्यायलय छ भने संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी पाँच वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएको छ’, उनले भने। संसद्मा कुनै अवरोध नभएको र पार्टीमा भएको झगडाले संसद् विघटन गरेर अस्थिरता निम्त्याउन खोजेको आरोप उनले लगाए।

अदालतलाई आफूहरुले दबाब नदिएको बताउँदै उनले अदालतलाई संविधान हेरिदिनुस् भनेर अपिल गरेको दाबी गरे। आफूहरु सडकमा आउन बाध्य भएको भन्दै उनले भने, ‘लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लाग्दैन।’ संविधान जोगाएर मात्रै निर्वाचनमा जानु पर्ने भन्दै नेता पौडेलले भने, ‘जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्दैन।’

कार्यक्रममा कांग्रेस नेतृ डीला संग्रौलाले र चितवनका सभापति जीतनारायण श्रेष्ठले विगतका निर्वाचनमा अरुलाई भोट दिएर ठूलो गल्ती गरेको बताए। उहाँले आगामी चुनावमा कांग्रेसले अन्य चुनाव चिह्नमा भोट नहाल्ने बताए।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले संसद् विघटन हुनुमा प्रधानमन्त्रीसँगै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताए। संसद् विघटनको दोष सिंगो नेकपाले लिनुपर्ने भन्दै उनले प्रम मात्र यसको भागिदार नभएको बताए। उनले संसद् पुनःस्थापना नभएसम्म संघर्ष जारी राख्ने बताए।

 

सभा सुरु हुनुभन्दा पूर्वकांग्रेसले रत्ननगरमा विरोध ¥याली निकालेको थियो। नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका सह–सचिव सूर्य अर्याल, नगरसचिव सीतादेबी शर्मा रेग्मीलगायतले संसद पुनःस्थापना माग गरेका थिए। नेपाली कांग्रेसले आजै अन्य छ वटा पालिकामा पनि विरोधसभा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad