*नेपालखबरमा माघ २ गते यहाँ प्रकाशित खबरबारे थप खोजबिन गर्दा पुष्टि हुन नसकेकाले सच्याइएको छ।
सो खबर प्रकाशित भएसँगै सर्वोच्च अदालतका न्यायाधीश र प्रशासनका अधिकारीहरूले हामीसँगको छलफल र सार्वजनिक रुपमा समेत आपत्ति जनापछि हामीले थप खोजबिन गरेका थियौं।
अहिलेसम्मको हाम्रो थप खोजबिनमा सो खबरमा उल्लेख गरिएको मिति र समयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतका न्यायाधीशहरू दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र सपना प्रधान मल्लले भेटघाट गरेको पुष्टि हुने प्रमाण फेला परेन।
त्यसैले उच्च स्रोतले दिएको सूचनाका आधारमा प्रकाशित सो खबर सच्याउँदै यसबाट सम्बन्धित न्यायाधीश र सम्मानित अदालतप्रति पर्न गएको असुविधाका निम्ति हामी क्षमा याचना गर्दछौं। साथै अबका दिनमा हाम्रा स्रोतहरूबाट आउने सूचनालाई थप पुष्टि गरिने प्रतिवद्धता पनि व्यक्त गर्दछौं।
हामीले पुस २ गते नै सो खबरको खण्डन गर्दै सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले जारी गरेको चेतावनीयुक्त विज्ञप्ती– अदालतमा विचाराधीन मुद्दामा आशंका राख्नु दुःखद : सर्वोच्च अदालत प्रकाशित गरेका थियौं, जसको धम्कीपूर्ण भाषाप्रति नेपाल पत्रकार महासंघ, प्रेस युनियन र प्रेस संगठनले आपत्ति जनाएका छन्।
न्यायपालिका र न्यायाधीश मात्रै होइन अपुष्ट र गलत खबर प्रकाशित गरेर कोही कसैको पनि सम्मान र प्रतिष्ठामा आँच पुर्याउने हाम्रो मनशाय छैन।
प्रतिक्रिया