राजनीति


महाभियोगयता एक्लिँदै ट्रम्प, धरापमा राजनीतिक जीवन

महाभियोगयता एक्लिँदै ट्रम्प, धरापमा राजनीतिक जीवन

नेपालखबर
माघ २, २०७७ शुक्रबार ४:२६,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प देशमा चार वर्षसम्म छाए। उनका अगाडि कोही टिक्न सकेनन् भने उनी प्रमुख समाचार बनिरहे। तर बुधबार त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेयता ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) मा एउटा अनौठो सन्नाटा छाएको वासिङ्टनका पत्रकार बताउँछन्।

ट्विटर, ट्रम्पको सबैभन्दा मनपर्ने सामाजिक सञ्जाल थियो, जसका माध्यमबाट उनले आफ्ना करोडौं समर्थकसँग सम्पर्क गर्थे। तर अहिले यसबाट पनि उनी ‘आउट’ भएका छन्। किनकि ट्विटरले उनको अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ। फेसबुक, युट्युब तथा इन्स्टाग्रामजस्ता प्लाटफर्मले पनि उनका अकाउन्ट बन्द गरिदिएका छन्।

धेरै जना निकट साथीले उनको साथ छाडिसकेका छन्। राष्ट्रपतिजस्तो शीर्ष स्थानमा रहेर पनि उनी यतिबेला अत्यन्तै एक्लो महसुस गरिरहेका छन्। उनको राजनीतिक जीवन नै ध्वस्त हुने संकेत देखिन थालेका छन्।

अब उनको राजनीतिक भविष्य अन्त्य भएको हो त? उनले अति विश्वास गरेको रिपब्लिकन पार्टीले पनि उनको साथ छाड्न लागेको हो त? उनी पार्टीका लागि घाँडो बनेका हुन् त? सबैभन्दा ठूलो सवाल हाे- रिपब्लिकन पार्टी यो संकटबाट चाँडै मुक्त हाेला वा ट्रम्प आगामी चुनावमा पनि पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न पाउलान् त?

राष्ट्रपति ट्रम्प यही जनवरी २० तारिखदेखि अमेरिकाका एक आम नागरिकमा परिणत हुने छन्। किनकि त्यस दिनदेखि नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनले सत्ता सम्हाल्दै छन्। 

अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई हिंसा भड्काएको आरोपमा दोषी ठहर्‍यायाे र उनीविरुद्ध दुईतिहाइ मत पर्‍याे भने उनले न सन् २०२४ को चुनाव लड्न पाउँछन् न त कुनै सरकारी पद नै प्राप्त गर्न सक्छन्। साथै पूर्वराष्ट्रपतिका लागि देशबाट पाउने विशेष अधिकारबाट समेत उनी वञ्चित हुनेछन्।

यस विषयमा अमेरिकी नागरिककाे मत विभाजित छ। राजनीतिक विश्लेषक बीजे रुदेल भन्छन्, ‘ट्रम्पको राजनीतिक अवसान हुन्छ भनेर बढाइचढाइ हल्ला फैलाइएको छ।’

यही जनवरी ६ तारिख ट्रम्पका समर्थकले अमेरिकी संसदमा हिंसात्मक आक्रमण गरेपछि उनीविरुद्ध आफ्नै पार्टी रिपब्लिकनका नेता उभिएका छन्। उनीविरुद्ध पेस महाभियोग प्रस्तावका पक्षमा उनकै पार्टीका १० सांसदले मत दिएका  छन्।

तर राजनीतिक विश्लेषक रुदल यतिकै भरमा ट्रम्पको राजनीतिक जीवन अब सकियाे भनेर लेख्नु मूर्खता हुने तर्क गर्छन्। उनी भन्छन्, ‘उदाहरणका लागि पछिल्लो वर्ष पत्रकार बब उडबर्डले कोरोना महामारी ट्रम्पका लागि निकै घातक साबित हुने दाबी गरेका थिए। तर सेप्टेम्बरपछि उनको लोकप्रियता ९२ प्रतिशतबाट बढेर ९४ प्रतिशत पुग्यो।’

तर मुम्बईस्थित विदेश नीतिका थिंकट्यांक गेटवे हाउससँग सम्बन्धित पूर्वकूटनीतिज्ञ राजीव भाटिया राष्ट्रपति ट्रम्प र उनका पार्टीको भविष्य अनिश्चित बनेको बताउँछन्। बीबीसीसँग कुरा गर्दै उनले ट्रम्पको भविष्य उनको पार्टीले लिने निर्णयमा निर्भर हुने बताए।

अमेरिकाको माथिल्लो सदन सिनेटमा सय सदस्य हुन्छन्, जसमध्ये ५१ जना डेमोक्रेटिक पार्टीका छन् भने ५९ सदस्य रिपब्लिकन पार्टीका। सिनेटमा हुने मतदानमा रिपब्लिकनका १७ सदस्यले मात्रै ट्रम्पविरुद्ध मत दिए भने दुईतिहाइ बहुमत पुग्छ। ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया यही जनवरी २० पछि सुरु हुनेछ, जतिबेला उनी पदमुक्त भइसक्नेछन्।

पूर्वकूटनीतिज्ञ राजीव भाटिया- रिपब्लिकन पार्टीले ट्रम्पलाई साथ दिएर अगाडि बढ्ने वा उनलाई छाड्ने, कस्ताे निर्णय गर्छ, त्यसैमा उनकाे राजनीतिक भविष्य भर पर्ने बताउँछन्। उनका अनुसार दुई यस्ता घटना भएका छन्, जुन ट्रम्प र रिपब्लिकन पार्टी दुवैका लागि नकारात्मक साबित भएका छन्।

उनी भन्छन्, ‘एकातिर ट्रम्पले चुनावको वैधतामा प्रश्न उठाउँदै अदालतमा हालेका मुद्दा एकपछि अर्काे खारेज भइरहे। निर्वाचन अधिकारीले पनि उनको आरोप झुटा साबित गरिरहे। अर्कातिर हालै जनवरी ६ तारिख संसद् भवनमा भएको हिंसात्मक घटनाले उनको पार्टी र उनी दुवैलाई ठूलो धक्का लागेको छ। यसअघिसम्म चुनावको नतिजा नमान्ने आवाज उठाइरहेका उनकै पार्टीको सांसद धेरै थिए भने अहिले तिनको संख्या निकै घटेको छ। यी दुई घटनाले रिपब्लिकन पार्टी र ट्रम्प दुवैलाई ठूलो धक्का लागेको छ। ट्रम्पका लागि योभन्दा ठूलो बेइज्जती अरू के हुन सक्छ कि पदबाट बारिहने अन्तिम समयमा दोस्रोपटक महाभियोग लाग्यो।’

राजनीतिक विश्लेषकका अनुसार अहिले राष्ट्रपति ट्रम्पको अवस्था एउटा मुक्केबाजकाे जस्तो छ, जसको कदम डगमगाइरहेको छ र एक जोडदार मुक्का लाग्नेबित्तिकै नकआउट हुन सक्छन्। तर कतिपय मुक्केबाज यस्तै अप्ठेरो अवस्थामा पुगेर पनि जित्न सफल हुन्छन्।

सिनेटले उनीवरुद्ध आगामी चुनावमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएन भने पार्टीभित्र उनको असर कम हुने निश्चित छ। स्मरणीय छ, जनवरी ६ तारिखअघिसम्म पार्टीमा उनको लोकप्रियता ८७ प्रतिशत थियो। साथै उनका समर्थक करोडौं छन्, जसले उनको साथ छाड्नेवाला छैन। यो पनि बिर्सन हुँदैन कि नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुनावमा हारे पनि उनलाई साढे ७ करोड मत प्राप्त भएको थियो।

राजनीतिक विश्लेषक बीजे रुदेल उनका समर्थक उनका सच्चा भक्त रहेको बताउँछन्, जसले उनकाे साथ पछिसम्म छाड्नेवाला छैनन्। 

तर अन्य केही विज्ञका अनुसार ट्रम्प त्यति धेरै शक्तिशाली छैनन्, जति चर्चा गर्ने गरिन्छ। उनीहरु भन्छन्- ट्रम्पले हालैको राष्ट्रपति चुनाव हारे भने उनकै कार्यकालमा दुवै सदनमा उनको पार्टी रिपब्लिकनले बहुमत पनि गुमायो।

त्यसैले धेरै जना वरिष्ठ पत्रकार र विश्लेषकले यतिबेला पार्टीलाई ट्रम्पबाट टाढा रहन सल्लाह दिइरहेका छन्।

राजनीतिक विश्लेषक किथ नौगटन द हिल पत्रिकामा लेख्छन्, ‘रिपब्लिकन पार्टीले अब ट्रम्पसँग नाता तोडेर नयाँ जनमततर्फ ध्यान दिन जरुरी छ।’

उनले अगाडि लेखेका छन्, ‘ट्रम्पले अब चुनाव (सन् २०२४ को) जित्न सक्दैनन्। जनवरी ६ को घटना उनको राजनीतिक यात्राका लागि अहिलेसम्मकै घातक साबित भएको छ। अब पार्टीलाई उनलाइ छाडेर अगाडि बढ्न जरुरी छ।’

तर ट्रम्पलाई पूर्ण रूपमा खारेज गर्न कोही तयार छैनन्। कोही पनि यो सम्भावनालाई पूरै नकार्न सक्दैनन् कि सन् २०२४ को चुनावमा उनी रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्दैनन्।

पार्टीमा अन्य सम्भावित उम्मेदवार निक्की हेली, टेड क्रुज र जोस हली यस्ता नेता हुन्, जसका पक्षमा जनमत कम छन् भने पार्टीभित्र पनि ट्रम्पको तुलनामा उनीहरूको लोकप्रियता निकै कम छ।

यतिबेला ट्रम्पको ठूलो राजनीतिक पुँजी उनका समर्थक हुन सक्छन्। यसअघि उनी ट्विटर वा अन्य सामाजिक सञ्जालमार्फत उनीहरूसँग कुरा गर्थे। अब केही हप्ता वा महिनापछि थाहा हुनेछ कि उनी समर्थकसँग कसरी संवाद गर्छन्। त्यसो त उनले ट्विटरजस्तो नयाँ प्लेटफर्म बनाउने तथा टीभी च्यानल सञ्चालन गर्न सक्ने अनुमान पनि गरिएको छ।

समग्रमा सबैको विश्लेषण के छ भने ट्रम्प यतिबेला निश्चित रूपमा समस्यामा छन्, तर उनी राजनीतिक मैदानबाट बाहिरिसकेका छैनन्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .