नेकपाका सांसद रमेश मल्लले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशलाई उपेक्षा गरेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले कर्णाली प्रदेशलाई बजेटमा न्याय गर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार बजेट नआएको बताए।
‘कर्णालीका जनप्रतिनिधिहरूसँग छलफलका क्रममा प्रशानमन्त्री शाहले कर्णालीलाई बजेटमा अन्याय नगर्ने बताउनुभएको थियो,’ मल्लले भने, ‘तर, प्रधानमन्त्रीले भनेजस्तो कर्णालीको हितमा बजेट आएको छैन। यसप्रति म सरकारको ध्यानाकर्षण गराउँछु।’
उनले सत्तारुढ दल रास्वपाले जनप्रतिनिधिहरू बजेट माग्न मन्त्रालय धाउने होइन, सरकारले आफैँ आवश्यक व्यवस्थापन गर्छ भनेको तर, बजेट आउँदा कर्णालीलाई उपेक्षा गरिएको आरोप लगाए।
बजेट निर्माणको क्रममा कर्णालीका जनप्रतिनिधिले पूर्वाधार विकास मन्त्रालयमा गएर कर्णालीका विकास प्राथमिकताका आधारमा तीनवटा सडक योजना सिफारिस गरे पनि ती योजना नै बजेटमा नपरेको बताए।
‘पूर्वाधार विकास मन्त्रालयले हामीलाई बोलाएपछि हामी दौडिँदै गयौँ, लाइनमा बसेर योजनाहरू बुझायौँ। तर अहिले रातो किताबमा तीमध्ये कुनै पनि योजना देखिँदैनन्। मन्त्रीले ओके, म गर्छु भन्नुभएको थियो। तर अहिले त्यो योजना पनि बजेटमा देखिएन।’
Shares

प्रतिक्रिया