राजनीति


प्रधानमन्त्रीले उल्लेख गरेको धाराअनुसार संसद विघटन गर्नै मिल्दैन : पूर्व न्यायाधीश लाल

प्रधानमन्त्रीले उल्लेख गरेको धाराअनुसार संसद विघटन गर्नै मिल्दैन : पूर्व न्यायाधीश लाल

नेपालखबर
माघ १, २०७७ बिहिबार १२:४५,

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम संविधान विपरित भएको कानुनविद्हरुले बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कानुनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताएका हुन्।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रधानमन्त्रीले संसद विघटनको विषय राजनीतिक भएको भने पनि यो विषय संवैधानिक विषय नै भएको बताए। संविधानको धारा उल्लेख गरेर संविधान विघटन गर्ने अनि सार्वजनिक रुपमा बोल्दा राजनीतिक विषय भन्ने कुरा नसुहाउने पूर्वन्यायाधीश लालले बताए।

संविधानको धारा ७६ को उपधारा ७ स्वतन्त्र रुपले प्रयोग गर्न सक्ने धारा नभएको उनले बताए। धारा ७६ को उपधारा १ र २ बमोजिम बनेका प्रधानमन्त्रीले उपधारा ७ बमोजिक संसद विघटन गर्न नसक्ने भएकोले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको उनको भनाई छ।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले संसदले सरकारको नीति, कार्यक्रम, बजेट सबै पास गरिदिएको साथै नेपालको नक्साको विषयमा संविधान संशोधन समेत गरिदिएको अवस्थामा प्रधानमन्त्री ओलीको संसदसँग विश्वास कायम रहेको बताए। यसर्थ संसद विघटन प्रधानमन्त्रीको अधिकार नभएको उनको भनाई छ। संसद पुनर्स्थापनाका आधारहरु स्पष्ट रहेको उनले बताए।

संविधानसभा सदस्य खिमलाल देवकोटाले नेपालको संविधानमा बलियो प्रधानमन्त्रीले नभई कमजोर प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था रहेको बताउँदै प्रधानमन्त्री ओलीलाई संसद विघटनको कुनै अधिकार नभएको बताए। संसद विघटनको पक्षमा केवल प्रधानमन्त्री एक्लै रहेका उनको तर्क छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै नेपालका राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवीहरुको विरोधका कार्यक्रम गर्दै आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad