अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव त्यहाँको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सबाट पारित भएकाे छ।
अब त्यो प्रस्ताव माथिल्लो सदन सिनेटमा जानेछ। त्यहाँ पनि त्यो दुईतिहाइ मतले पारित भएमा ट्रम्प राष्ट्रपति पदबाट जनवरी २० अगावै बर्खास्त हुनेछन्। जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइनडेनले सत्ता सम्हाल्दै छन्।
ट्रम्पविरुद्ध यही जनवरी ६ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) भित्र भएकाे हिंसा उनकै उक्साहटमा भएको आरोप छ।जुन दंगामा एक प्रहरीसहित ५ जनाको मृत्यु भयो।
बीबीसीका अनुसार त्यही आरोप डेमाक्रेटिक पार्टीका सांसदले गत साेमबार तल्लो सदनमा दर्ता गरेकाे महाभियोग प्रस्ताव केही बेरअघि २३२ मतले पारित गरेको हो।
ट्रम्पकै पार्टी रिपब्लिकनका १० सांसदले समेत महाभियोगका पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। उनका अनुसार १९७ जना रिपब्लिकन सांसद मात्र महाभियाेगका विपक्षमा देखिए।
तल्लो सदनमा डेमोक्रेटिक पार्टीकै बहुमत रहेकाले रिपब्लिकनका सांसदले साथ नदिएका भए पनि महाभियोग प्रस्ताव पारित हुन्थ्यो। किनकि तल्लो सदनमा डेमोक्रेटिक सांसद २२२ जना छन् भने प्रस्ताव पारितका लागि २१७ मत मात्र आवश्यक पर्छ।
योसँगै ट्रम्प एकै कार्यकालमा दुईपटक महाभियोग सामाना गर्नुपर्ने अमेरिकाका पहिलो राष्ट्रपति बनेका छन्।
यसअघि २०१९ डिसेम्बरमा ट्रम्पविरुद्ध महाभियाेग लगाइएकाे थियाे। तर त्याे प्रस्ताव तल्लो सदनले पारित गरे पनि माथिल्लाे सदन सिनेटबाट अस्वीकृत भएपछि उनी महाभियाेगबाट बचेका थिए।
अब माथिल्लो सदनमा सुनुवाइ
अहिले पनि तल्लाे सदनबाट पारित ट्रम्पविरुद्धकाे महाभियाेग प्रस्ताव माथिल्लो सिनेटमा पेस हुनेछ। त्यसका निम्ति दुईतिहाइ मत आवश्यक हुन्छ। त्यसका लागि ट्रम्पकै दल रिपब्लिकन पार्टीका सिनेटरहरूको पनि साथ आवश्यक पर्छ।
बीबीसीका अनुसार कम्तीमा १७ जना रिपब्लिकन सिनेटर ट्रम्पका विपक्ष र महाभियोगका पक्षमा उभिनुपर्नेछ।
न्युयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटर ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया