प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई निलम्बन गरेको छ।
प्रचण्ड–नेपाल समूहको संसदीय दलले सोमबार ८ सांसदलाई निलम्बन गरेको पत्र प्रदेश सभामा दर्ता गराएको हो।
मुख्यमन्त्री राईसहितका ८ सांसदले पार्टीविरोधी गतिविधि गरेको, प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई साथ दिएको, पार्टी विभाजन गर्न सक्रिय भएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधिएको र सो अवधिमा जवाफ नदिएका कारण निलम्बन गरिएको संसदीय दलका नेता भीम आचार्यले जानकारी दिए।
निलम्बनमा पर्नेमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन्।
संसदीय दलले मुख्यमन्त्री शेरधन राईलाई पठाएको पत्रमा निलम्बन यही पुस २६ गतेबाट लागू भएको उल्लेख गरेको छ। प्रचण्ड नेपाल समूहले निलम्बन गरेका ८ जानै सांसद प्रधानमन्त्री ओली पक्षका हुन्।
प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरघन राईलाई अविश्वासको प्रस्ता ल्याउँदै संसदीय दलको नेताबाट हटाएर आचार्यलाई संसदीय दलको नेता बनाएको थियो।

प्रतिक्रिया