स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोपका लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको बताएका छन्।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले नीतिगत तयारी पूरा गरेर अगाडि बढेको बताएका हुन्।
उनले केही सञ्चारमाध्यममा कोरोना खोपका लागि सरकारले कुनै काम नगरेको भन्ने आएपछि आफूले पत्रकार सम्मेलन गरेको बताउँदै उनले कोरोना खोप ल्याउन सरकार गम्भीर बनेको र प्रक्रिया अगाडि बढीसकेको बताएका हुन्।
मन्त्री त्रिपाठीले रूस, भारत र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी भइसकेको बताउँदै छिट्टै खोप ल्याइने जानकारी दिए।
‘खोपका विषयमा रुस, भारत र युएईका राजदूतसँग वार्ता भएइसकेको छ। खोप सुरु भएका देशभन्दा धेरै पछाडि हुने स्थिति छैन’, उनले भने। उनले छिमेकी देशका नागरिकसँगै नेपाली नागरिकले पनि पाउने कुरामा विश्वास समेत दिलाए।
उनले खोप खरिद पक्रिया पारदर्शी र वितरण न्यायोचित हुने बताए। ‘खरिद पक्रिया पूर्णत पारदर्शी र वितरण न्यायोचित हुनेछ’, उनले भने’, विकृतिको आशंका, गैरजिम्मेवारीको जुन आशंका भएको छ त्यसलाई हामी झुठो सावित गर्छौँ।’
उनले कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको जानकारी दिँदै खोप खरिद पक्रियामा निजी क्षेत्रलाई पनि सहभागी गरााउने बताए।
‘सरकारले पनि खरिद नगर्ने निजी क्षेत्रलाई पनि खोप खरिद गर्न नदिने गरेजस्तो गरेको भन्ने खालका आलोचना भएका छन्,’ मन्त्री त्रपाठीले भने, ‘सकेसम्म सरकारले अरू देशका सरकारसँग नै समन्वय गरी खोप प्राप्तिका काम गर्छ। खरिद प्रक्रियामा निजी क्षेत्रलाई पनि पर राख्दैनौं।’
उनले खोप आएपछि सुरुमा फ्रन्टलाइनर, दीर्घरोगी र वृद्धहरूलाई भ्याक्सिन दिइने र त्यसका लागि तथ्यांकसमेत संकलन भएको जानकारी दिए।
खोपका लागि करिव १६ हजार खोप केन्द्रलाई परिचालित गरिने र ५ हजार कर्मचारी र ५२ हजार महिला स्वयम्सेवक समेत परिचालन गर्न सकिने उनले बताए।
उनले भण्डारको अवस्था आफूहरुसँग पुग्दो रहेको र ढुवानीको व्यवस्था पनि मिलाएको बताए।

प्रतिक्रिया