राजनीति


वर्षमान पुनको दाबी : ओलीले न्यायालय पनि विघटन गर्न सक्छन्

वर्षमान पुनको दाबी : ओलीले न्यायालय पनि विघटन गर्न सक्छन्

नेपालखबर
पुस २६, २०७७ आइतबार १४:२१,

नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आपत्ति जनाएका छन्।

आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले न्यायाल विघटन गर्न खोजेको टिप्पणी उनको छ। नेता पुनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चार पूर्वप्रधानन्यायाधीशलाई धम्की दिएकामा पनि आक्रोश व्यक्त गरे। ओलीले राज्य शक्तिको दुरुपयोग गरेर न्यायालय विघटन गर्न सक्ने भन्दै उनले सचेत रहन न्यायपालिकाको नेतृत्वलाई आग्रह गरे।

‘केपी ओलीले संसदमा दुई तिहाइ बहुमतसहितको विशाल पार्टी र प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस गर्नुभएको छ। आफूले भनेजस्तो नहुँदा न्यायालयलाई पनि विघटन गर्ने, स्वतन्त्र न्यायालयप्रतिको जनआस्थालाई विघटन गर्ने, न्यायपालिकाप्रतिको विश्वास घटाउने प्रयत्न गरिाख्नुभएको छ’, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षीय मजदुरहरुको उपत्यास्तरीय प्रशिक्षण कार्यक्रममा मन्त्री पुनले भने, ‘न्यायपालिकालाई धम्क्याउने, दबाब दिने र षड्यन्त्र गर्ने गतिविधि जारी छन्। यसमा न्यायमूर्तिहरु सचेत रहनुपर्छ।’

ओली र ओली समूहका कोही नेताले सार्वजनिक स्थानबाट प्रतिनिधिसभा विघटन संविधानको कुन व्यवस्थाअनुसार गरेको भन्नेबारे बोल्न नसकेको भन्दै पुनले अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरे। पुनले जनताको भावनानअुसार न्याय निरुपण गर्नुपर्ने समय आएको चर्चा गर्दै न्यायालयप्रति आफूहरुको विश्वास रहेको उल्लेख गरे।

ओलीको व्यक्तिगत महत्वाकांक्षा, स्वेच्छाचारिता र निरंकुशतालाई अदालतले सही ठहर्‍याउन नसक्ने उनको भनाइ छ।

‘न्यायपालिकाले ओलीको कलदमलाई बदर गरेर प्रतिनिधिसभा पुर्नस्थापना गर्छ। यो कदम सच्याउनुको विकल्पै छैन। संविधानले त्यसै भन्छ’, पुनले भने।

न्यायलयले संविधानको संशोधन नभई भएको संवैधानिक व्यवस्थाको व्याख्या गर्ने भन्दै नेता पुनले कानून नबुझेको सामान्य मानिसले संविधान पढ्दा कतै पनि बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको अधिकार नराख्ने बताए। पुनले ओलीको अलोकतान्त्रिक र निरंकुश कदमप्रति खबरदारी गर्दै सडकबाटै सच्याउन बाध्य पारिने चेतावनी पनि दिए। ज्ञानेन्द्र शाहको निरंकुशता जनताको शक्तिका अगाडि नटिकेको चर्चा गर्दै पुनले ओलीको निरंकुता धेरै दिन नटिक्ने दाबी गरे।

‘देशब्यापी पञ्चर्‍यालीमा जाँदा ज्ञानेन्द्रलाई लाखौंले ढोगेका थिए। उनले टेकेको माटो टिपेर मानिसहरुले घर लैजान्थे। ज्ञानेन्द्र बुझेंबुझें भन्दै हिंड्थे। त्यस्ता ज्ञानेन्द्रसमेत जनताका अगाडि टिकेनन्’, पुनले भने, ‘अहिले ओलीले ज्ञानेन्द्रको जस्तै पञ्चर्‍याली गरेका छन्। जनता धेरै सचेत भइसकेको छ। जनतालाई हेप्नेहरु इतिहासबाट गलहत्याइएका छन्। ओलीलाई पनि जनताले एक दिन ज्ञानेन्द्रलाई जसरी गलहत्याँछन्।’

ओलीले आफू कामचलाउ प्रधानमन्त्री भइसकेपछि कामचलाउ मन्त्री नियुक्त गरेको र केही माओवादी जनयुद्धबाट र झापा आन्दोलनको क्रान्तिकारी विरासतबाट आएका मानिसहरु पनि ओलीको मन्त्री खान दोडिएको भन्दै उनले व्यंग्य गरे।

‘आयु सिद्धिएको कामचलाउ प्रधानमन्त्रीको पनि कामचलाउन मन्त्री खान केही साथीहरु दौडादौड गरेको देखियो। यो कस्तो स्वाभिमान? कस्तो विचार? कस्तो संस्कृति?’, पुनले भने, ‘यो दलाल तथा नोकरशाही प्रवृत्ति हो, विचौलियो प्रवृृृत्ति हो। ओलीजी र उहाँको गुटले जे आउँछ खान्छ, जे पाउँछ खान्छ। जायज नाजायज सही गलत केही मतलब गर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad