पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–नेपाल समूहको नेकपाका अध्यक्ष माधव नेपाल शुक्रबार साँझ जनकपुर आइपुगेका छन्। शनिबार सिरहामा हुने कम्युनिस्ट आन्दोलनको प्रणेता जय गोविन्द साहको ३१ औं स्मृति सभालाई सम्बोधन तथा कार्यकर्ता भेटघाट गर्न नेपाल जनकपुर आइपुगेका हुन्।
नेपाल शुक्रबार साँझ बुद्ध एयरको विमानबाट जनकपुर आएको युवा संघका धनुषा संयोजक सरोज यादवले जानकारी दिए।
प्रतिनिधि सभा विघटन पश्चात पार्टी विभाजनको क्रममा रहेका बेला नेपाल पहिलो पटक जनकपुर आएका हुन्। उनलाई जनकपुर विमानस्थलमा प्रचण्ड–नेपाल समूहका नेताहरुले भव्य स्वागत गरेका छन्।
नेपाल अहिले महोत्तरीको बर्दिबासमा पुगेर नेता कार्यकर्तालाई भेटघाट गरिरहेका छन्। भोलि दिउँसो सिरहाको कर्जन्हा नगरपालिका स्थित वस्तीपुरमा हुने प्रणेता साहको स्मृति सभालाई सम्बोधन गर्ने छन्। तत्पश्चात दिउँसो धनुषाको तारापट्टीमा नेताकार्यकर्ता भेटघाटको कार्यक्रम रहेको युवा संघका संयोजक यादवले बताए।
भोलि जनकपुरमै बास बसेपछि आइतबार बिहान नेकपा प्रदेश पार्टी कार्यालयमा यस प्रदेश तथा जिल्लाका नेता कार्यकर्तासँग भेटघाट गरी काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ।
पार्टी विभाजनको अवस्थामा रहेको बेला नेपाल प्रदेश २ को अस्थायी राजधानी जनकपुर आगमनलाई महत्वका साथ हेरिएको छ।
Shares

प्रतिक्रिया