राजनीति


संसद् पुनःस्थापना भए पनि नभए पनि मुलुक अस्थिरतातर्फ धकेलियो : बोहरा

संसद् पुनःस्थापना भए पनि नभए पनि मुलुक अस्थिरतातर्फ धकेलियो : बोहरा

प्रकाश न्यौपाने
पुस २३, २०७७ बिहिबार ७:१८,

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु असंवैधानिक भएको बताएका छन्।

संविधानमै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले गैरसंवैधानिक काम गरेको बोहराको आरोप छ।

बिहीबार भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता बोहराले प्रधानमन्त्रीले असंवैधानिक काम गरे पनि अदालतको निर्णय आफूहरुले स्कीकार गरेर जाने बताए।

उनले भने, ‘संसद विघटनसम्बन्धी मुद्दा अदालतमा विचारधीन छ, अदालतले जे फैसला गर्छ हामीलाई मान्य हुन्छ, सोहीअनुसार हामी अघि बढ्छौं।’

नेता बोहराले यदि संसद पुनःस्थापना भए पनि फेरि राजनीतिक फोहोरी खेल हुने भन्दै मुलुक जसरी पनि अस्थिरतातर्फ धकेलिएको बताए।

‘अहिलेको अवस्थामा संसद पुनःस्थापना समस्याको समाधान होइन्’, बोहराले भने, ‘संसद पुनस्र्थापना भए पनि अहिलेको जस्तै अस्थिरता कायम रहिरहन्छ।’ प्रधानमन्त्रीले पार्टीभित्रको आन्तरिक कलहले मुलुकमा अस्थिरता निम्त्याएको उनको भनाइ छ।

संसद पुनःस्थापना नभए आफूहरु चुनावमा जाने र निर्वाचन आयोग पनि चुनाव गर्न तयार रहेको जनाउँदै ताजा जनादेश नै अहिलेको संकट व्यवस्थापनको आधार भएको बोहराले जनाए।

‘प्रधानमन्त्री चुनाव गर्न सकारात्मक छन्, जसरी पनि चुनाव हुन्छ, ताजा जनादेशमा जानुको विकल्प छैन। हामी चुनावमा जान्छौं’, उनले भने। उनले गोलमेच सम्मेलन गरी विप्लवदेखि सबैलाई एकै ठाउँमा ल्याएर अहिले देखिएको संकटको व्यवस्थापन गर्नु पर्ने धारणा राखे।

नेता बोहराले जनमत संग्रह गर्ने हो भने हिन्दू राज्य र राजाको पक्षमा प्रष्ट बहुमत आउने पनि दावी गरे। मुलुकमा अब लोकतान्त्रिक राजाको व्यवस्था गर्नु पर्ने उनको भनाइ छ। हिजो गणतन्त्रको विरुद्धमा नारा नलागेको र अहिलेको त्यसविरुद्ध जनमत बढीरहेको बताउँदै बोहराले भने, ‘सबैको माग लोकतान्त्रिक राजा र सनातन हिन्दू धर्म नै हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .