पत्नी सीता दाहालको उपचारका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जान लागेका छन्।
प्रचण्ड–नेपाल समूहको स्थायी समिति सदस्य मात्रिका यादवले अध्यक्ष दाहाल श्रीमतीको उपचारका लागि भारत जना लागेको बताए।
आजको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले उपचारका लागि मुम्बई जानु परेका कारण आफू भोलिको बैठकमा नआउने जानकारी गराएको उनले बताए।
‘अध्यक्ष प्रचण्डज्यूले आफू पत्नी सीता दाहालको उपचारका लागि सोमबार मुम्बइ जानु परेको स्थायी समिति बैठकमा जानकारी गराउनुभएको थियो’, उनले भने।
उनले सीता दाहालले एक्लै जान नमानेका कारण अस्पतालमा भर्ना गर्नका लागि मात्रै प्रचण्ड भारत जान लागेको जानकारी दिए।
दाहाल ०७४ को दसैँअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी थिइन्। सोही वर्षको मंसिर ३ गते उनका छोरा प्रकाशको निधनपछि गम्भीर बिरामी भएकी हुन्।
यसअघि उपचारका लागि प्रचण्डले २०७५ साउनमा सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगेका थिए।
सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो।
त्यसपछि बिभिन्न अस्पतालमा उपचार गराउँदै आए पनि उनको स्वास्थ्यमा सुधार भएको छैन।
२०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो।
यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा लगेर आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो।
बुधबार एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। बिहीबार अस्पतालबाट डिस्चार्ज भए पछि उनी घरमै रहेकी थिइन्। उनलाई थप उपचारका लागि सोमबार भारत लग्ने तयारी भएको हो।

प्रतिक्रिया