नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन्।
बिहीबार प्रचण्ड निवास खुमलटार पुगेका महामन्त्री सिंहले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने बताएका हुन्।
महामन्त्री सिंह प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न बिहबिार दिउँसो मेडिसिटी अस्पताल पुगेको थिए। सीताको डिस्चार्ज भइसकेपछि उनकै निवासमा पुगेर भेट गरी स्वास्थ्य लाभको कामना गरेको सिंहले नेपालखबरसँग बताए। अध्यक्ष प्रचण्डको सचिवालयले पनि सिंहले दाहालको स्वास्थ्य अवास्था बुझ्नुका साथै प्रचण्डसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेको बताएको छ।

‘प्रतिनिधिसभा विघटन गलत हो र यसको पुनःस्थापना हुनुपर्छ’, सिंहले प्रचण्डसँग भने, ‘यो विषयमा समान धारणा भएका दलहरुले सयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनःस्थापना गर्न दबाब दिनुपर्छ।’
उनले सयुक्त रुपमा जान नसके पनि नेकपाको प्रचण्ड–नेपाल समूहले गर्ने आन्दोलनप्रति आफूहरुको समर्थन रहने बताए। ‘सकभर संयुक्त आन्दोलन गरौँ, त्यसो हुन नसके तपाईंहरुले गर्ने आन्दोलनप्रति हाम्रो समर्थन हुन्छ’, प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै सिंहले भने।

उनले यस विषयमा सबै दलको धारणा आइसके पनि कांग्रेसको देउवापक्ष भने दोधारमा रहेको बताए। ‘यो विषयमा नेपाली कांग्रेस खासगरी सभापति शेरबहादुर देउवा समूह प्रष्टसँग आएको छैन, उनीहरुको संसद पुनःस्थापनाप्रतिको धारणा के हो? संसद पुनःस्थापना गर्न आन्दोलन गरे भने हाम्रो समर्थन रहन्छ’, प्रचण्डसँग सिंहले भने।
महामन्त्री सिंह अध्यक्ष प्रचण्डका कट्टर आलोचक मानिन्छन्। सिंह नेतृत्वको मसालले पछिल्लो समय केपी शर्मा ओलीले उठाएको राष्ट्रवादको मुद्दालाई साथ दिँदै आएको थियो। प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको भने मसालले खुलेरै विरोध गरेको छ।
Shares

प्रतिक्रिया