ad ad

राजनीति


अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउनुस् : मन्त्री अर्याल

अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने कार्यक्रम बनाउनुस् : मन्त्री अर्याल

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:३५,

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरुलाई निर्देशन दिएकी छन्।

मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज (बिहिवार) मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन्।

पुल्चोकस्थित विभागहरुको अनुगमन, निरीक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरुका बारेमा जानकारी लिएकी थिइन्।

कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रसायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभए पनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने बताइन्। त्यसका निम्ति आवश्यक कार्यक्रम र कार्ययोजना बनाउनसमेत मन्त्री अर्यालले कर्मचारीहरुलाई निर्देशन दिइन्।

‘अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ। रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन’, मन्त्री अर्यालले भनिन्, ‘तर अब प्राङ्गारिक मलमा जोड दिऊँ। रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बृद्धि गर्दै लैजाऊ।’

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताइन्। कृषकले कृषि कर्म गर्नका निम्ति मल, बिउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उनले निर्देशन दिइन्।

‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको? त्यसको लेखाजोखा गर्नुस्’, उनले भनिन्, ‘अनुदानका कार्यक्रमलाई पुर्नविचार गरौं। यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन।’ राम्रा कामलाई निरन्तरता हुने ढंगले अगाडि बढ्नुपर्ने भन्दै उनले सोच र कार्यशैली बदलेर कामलाई अगाडि बढ्न निर्देशन दिइन्।

निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर व्यवसायिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउँदै मन्त्री अर्यालले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न व्यवसायिक कृषि प्रणालीमा जोड दिनैपर्ने बताइन्।

यसैबीच पशुसेवा विभागको ब्रिफिङमाल मन्त्री अर्यालले मासु, दुध र माछामा आत्मनिर्भर भयौं भन्ने ढंगले तयारी अगाडि बढाउन कर्मचारीहरुलाई निर्देशन दिइन्। बजारमा देखिएको बोयर बाख्राको मागको पूर्ति गर्नेगरी काम गर्न समेत निर्देशन दिइन्। पशुपंक्षीका क्षेत्रका सूचना प्रणालीलाई व्यवस्थित गर्न आग्रह गर्दै मन्त्री अर्यालले प्रत्येक दिनको सूचना अपडेट हुनेगरी सूचना प्रणाली विकास गर्न कर्मचारीलाई निर्देशन दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .