ad ad

राजनीति


सबै जिल्लामा आज प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन, काठमाडौंमा ५० हजार नागरिक सडकमा उतार्ने तयारी

सबै जिल्लामा आज प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन, काठमाडौंमा ५० हजार नागरिक सडकमा उतार्ने तयारी

नेपालखबर
पुस १४, २०७७ मंगलबार २:३४,

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपा (प्रचण्ड-नेपाल) समूहले आज (मंगलबार) राजधानी काठमाडौंसहित देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दै छ।

प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध चरणवद्ध सडक संघर्षको घोषणा गरेको प्रचण्ड-नेपाल समूहले आज दिउँसो देशका सबै जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गर्न लागेको हो।

प्रतिनिधिसभाको कथित विघटनविरुद्ध पार्टी केन्द्रद्वारा घोषित संघर्षका कार्यक्रम अन्तर्गत आज काठमाडौंसहित देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

९ पुसमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध देशव्यापी आन्दोलन चर्काउने निर्णय गर्दै चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो। यसअघि प्रचण्ड नेपाल नेतृत्वको नेकपाले पुस १२ गते देशका सबै जिल्लामा अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै नेकपा (प्रचण्ड-नेपाल) समूहले त्यसविरुद्ध कानुनी र राजनीतिक लडाइँलाई सँगसँगै अघि बढाएको छ।

राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने तयारी प्रचण्ड नेपाल समूहले गरेको छ। बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु गर्ने तयारी छ। युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाका अनुसार काठमाडौंको टेकु, नयाँ बानेश्वर, लैनचौर, नक्साल र ललितपुरको कुपन्डोलबाट जुलुश सुरु हुनेछन्।

यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ। जुलुस प्रदर्शनपछि भृकुटीमण्डपमा विरोधसभा हुनेछ। जहाँ अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाल, संघर्ष समितिका संयोजक तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रचण्ड नेपाल समूहले श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय संघर्ष समिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .