ad ad

राजनीति


चिनियाँ टोली भन्छ : नेपालमा कसैको पक्ष लिनु हाम्रो भ्रमणको उद्देश्य होइन

चिनियाँ टोली भन्छ : नेपालमा कसैको पक्ष लिनु हाम्रो भ्रमणको उद्देश्य होइन

नेपालखबर
पुस १३, २०७७ सोमबार १८:१२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन प्रक्रियामा गइरहेका बेला अचानक आइतबार चीनबाट एउटा उच्चस्तरीय टोली नेपाल आएपछि धेरैलाई आश्चर्यचकित पार्‍यो।

उनीहरु काठमाडौं ओर्लेसँगै क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र नेकपाका सबै शीर्ष नेतालाई छुट्टाछुट्टै भेट्न थाले।

धेरैले सो टोली सत्तारुढ दलको बिबाद समाधान गर्ने उद्देश्यसहित नेपाल आएको भनी टिप्पणी सुरु भएपछि चिनियाँ पक्षले सोमबारका पछिल्ला भेटघाटहरुमा त्यसको खण्डन गरेको छ।

चिनियाँ विदेश मन्त्रालय र नेपालको अध्ययन भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले आफूहरु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नआएको प्रष्ट्याएका छन्।

सोमबार साँझ पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा चिनियाँ उपमन्त्रीले आफूहरुको नेपाल भ्रमण आन्तरिक मामिलामा छलफल गर्नका लागि नभएको बताएका थिए।

उपमन्त्री येचौले खनाल र भट्टराईलाई उनीहरुको निवास क्रमशः डल्लु र टोखामा पुगेर भेटेका थिए।

खनालसँगको भेटमा चिनियाँ टोलीले नेपालको सत्तारुढ दलमा देखिएको बिबादमा आफूहरुले कसैको पनि पक्ष नलिने नीति भएको बताएका थिए।

‘हामी कसैको पनि पक्ष लिन आएका होइनौं। आन्तरिक मामिलामा हामी पक्षधरता गर्दैनौं। हाम्रो चासो भनेको नेपालमा भएको पछिल्लो घटनाक्रमले अस्थिरता उत्पन्न हुन्छ की भन्ने हो,’ खनालसँगको भेटमा सहभागी रहेका मिलन तुलाधारले नेपालखबरसँग भने।

खनालपछि सो टोलीले जसपाका नेता भट्टराईसँग पनि भेट गरेको थियो। सो भेटमा पनि चिनियाँ उपमन्त्रीले आफूहरुको भ्रमणलाई लिएर भएको हल्ला साँचो नभएको प्रष्ट्याएका थिए।

जसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेका अनुसार भट्टराईसँग उनीहरुले नेपालको आन्तरिक राजनीतिक विवादमा छलफल गर्नु आफूहरुको कुनै योजना नरहेको बताएका थिए।

‘उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताउनुभयो,’ पाण्डेले भने ‘यो सन्दर्भमा नेपालका प्रमुख पार्टीहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीको आपसी सम्बन्ध र नेपाल–चीन द्विपक्षीय सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उहाँले उल्लेख गर्नुभयो।’

यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले पनि नेपालको पछिल्लो अवस्थाबारे आफूहरु जानकार रहेको बताएका छन्।

उनले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध राम्रो रहेको तर आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आफ्नो पार्टीको कुनै नीति नभएको बताएका छन्।

‘अन्तरपार्टी सम्बन्धबारे चारवटा सिद्धान्त स्वतन्त्र, पूर्ण समानता, आपसी सम्मान र एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपबाट चिनियाँ कम्युनिष्ट पार्टी निर्देशित छ,’ उनले नियमित पत्रकार सम्मेलनमा भनेका छन्।

नेपालका राजनीतिक दलहरुसँग नेपाल–चीनबीचको रणनीतिक सहकार्यात्मक साझेदारीलाई निरन्तर रुपमा विकास गर्न चीन तयार रहेको उनले बताए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजनको प्रक्रियामा गएको छ।

यो अवस्थाबारे अध्ययन गर्न नेपाल आएको टोलीले दुवै पक्षबीच अझैपनि दुई पक्षबीच मिलनबिन्दु कुनै हुनसक्छ कि भनी नेकपाका शीर्ष नेताहरुसमक्ष भ्रमणमा रहेका चिनियाँ नेताहरुले जिज्ञासा राखेका थिए।

चारदिने भ्रमणमा आइतबार काठमाडौं आइपुगेको सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेर नेकपाको विभाजनको विषयमा चासो राखेको थियो।

नेकपा अध्यक्ष प्रचण्डसँगको भेटमा चिनियाँ उपमन्त्रीले नेकपाका विभाजित दुई पक्षबीच मिल्नका लागि अझै पनि कुनै मिलनबिन्दु हुनसक्छ कि भनी जिज्ञासा राखेका थिए। प्रचण्डले प्रतिनिधि सभाको पुनस्र्थापना नै त्यस्तो बिन्दु हुनसक्ने जानकारी दिएको बताइएको छ।

पछिल्ला केही वर्षदेखि नेकपासँग र चिनियाँ कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्ध थप निकट बनाउनुका साथै दुई तर्फका नेताहरुबीच आपसी अन्तरक्रिया पनि बढाउँदै लगिएको छ।

तत्कालीन नेकपा–एमाले र माओवादीबीच एकीकरण भई बनेको नेकपाले बलियो बहुमतका साथ नेपालमा सरकार चलाएकोमा खुशी रहेको बताइएको थियो। त्यसैले अहिलेको नेकपा विभाजनलाई चीनको संस्थापन पक्षले सकेसम्म रोक्न खोजेको भन्ने अड्कलबाजी भइरहेका बेला अचानक यो टोलीको भ्रमण भएका कारण त्यस्ता अड्कलबाजीलाई थप टेवा पुगेको हो।

चारदिने भ्रमणमा आएको सो टोलीले आफ्ना भेटघाटका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छैन।

यो पनि :

प्रचण्डसँग चिनियाँ टोलीको जिज्ञासा: नेकपा मिल्ने अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन?

- प्रधानमन्त्री ओलीसँग चिनियाँ टोलीको भेटवार्ता, राष्ट्रपति सीको यस्तो सन्देश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .