राजनीति


प्रचण्डसँग चिनियाँ टोलीको जिज्ञासा : नेकपा मिल्ने अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन?

प्रचण्डसँग चिनियाँ टोलीको जिज्ञासा : नेकपा मिल्ने अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन?

नेपालखबर
पुस १३, २०७७ सोमबार ८:२,

नेपाल भ्रमणका रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गु यचैले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अहिले नेकपामा देखिएको विभाजनको मिलनविन्दु के हुनसक्छ भनेर जिज्ञासा राखेका छन्।

अध्यक्ष प्रचण्डसँग खुमलटारमा आज बिहान गरेको डेढघण्टा लामो छलफलका क्रममा चिनियाँ टोलीले सो जिज्ञासा राखेको हो।

छलफलमा चिनियाँ उपमन्त्री गुओ यचौले सो विषय नेपालको आन्तरिक मामिला भएको र त्यसको आन्तरिक रुपमै समाधान हुनुपर्ने बताएका थिए।

तर, नेपालमा स्थिरता होस् भन्ने आफूहरुको चाहना भएको उनले जोड दिएका थिए।

‘नेपालका आन्तरिक मामिला आन्तरिक रुपमै समाधान होस् भन्ने चीनको धारणा रहेको र सो मान्यतालाई आफूहरुले जहिले पनि सम्मान गर्ने बताउँदै चिनियाँ टोलीले अहिले देखिएको समस्याले नेपाल राजनीतिक अस्थिरतामा फस्ने हो की भन्ने आफ्नो चिन्ता व्यक्त गरेका थिए,’ चिनियाँ टोलीसँगको भेटपछि प्रचण्डको भनाइ उद्धृत गदै नेकपाका एक नेताले भने, ‘नेपाल राजनीतिक अस्थिरतामा नफसोस् भन्ने चिनियाँ चाहना रहेको देखियो।’

उनका अनुसार चिनियाँ टोलीले अहिले नेकपामा देखिएको विवादको अझै पनि कुनै मिलनविन्दु हुनसक्छ कि सक्दैन भन्ने जिज्ञास पनि राखेका थिए।

चिनियाँ टोलीले यहाँको भूराजनीतिक अवस्थाका कारण पनि नेपालमा स्थिरता चीनको प्राथमिकतामा रहेको बताएका थिए।

भेटमा प्रचण्डले भने प्रतिनिधि सभाको पुनस्र्थापना मिलनविन्दु हुनसक्ने बताएको खुमलटार स्रोतले जनाएको छ।

‘हाम्रो कारणले अहिलेको यो अवस्था आएको होइन। प्रधानमन्त्री ओलीलाई हामीले सरकार सञ्चालनमा सहयोग नै गर्दै आएका हौं तर प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले संसदमाथि प्रहार गर्नुभयो,’ प्रचण्डका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संसद पुनस्र्थापना भयो भने त्यो मिलनबिन्दू बन्न सक्छ।’

टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङको सन्देश पनि प्रचण्डलाई सुनाएका थिए।

प्रचण्डअघि चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपामा विभाजित हुन पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .