ad ad

राजनीति


सर्लाहीमा ओली समूह कमजोर, अधिकांश जनप्रतिनिधि र नेता कार्यकर्ता प्रचण्ड- नेपालतिर

सर्लाहीमा ओली समूह कमजोर, अधिकांश जनप्रतिनिधि र नेता कार्यकर्ता प्रचण्ड- नेपालतिर

नेपालखबर
पुस १२, २०७७ आइतबार १५:६,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा (ओली समूह) सर्लाहीमा कमजोर देखिएको छ।

संघ, प्रदेश र स्थानीय तहमा विजयी हुने अधिकांश जनप्रतिनिधि, पार्टीका जिल्ला सदस्य र अगुवा नेता, कार्यकर्ता प्रचण्ड -नेपाल समूहमा लागेका कारण सर्लाहीमा ओली समूह कमजोर देखिएको हो। सर्लाहीबाट ओली समूहले सात जनालाई केन्द्रीय सदस्य बनाए पनि जिल्लाका अधिकांश स्थापित नेता र अगुवा कार्यकर्ता प्रचण्ड -नेपाल समूहमा खुलेर लागेका छन्।

नेकपाले जित हासिल गरेका सर्लाहीका सात स्थानीय तहमध्ये दुई स्थानीय तहका प्रमुख मात्रै ओली समूहमा लागेका छन्। बाँकी पाँचवटा स्थानीय तहका प्रमुख र उपप्रमुख सबै पुष्मकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको (प्रचण्ड- नेपाल) समूहमा खुलेका छन्।

त्यस्तै सर्लाहीमा नेकपाबाट विजयी हुने विघटित प्रतिनिधिसभाका एकजना सांसद र प्रदेशमा विजयी हुने दुई सांसद पनि प्रचण्ड -नेपाल समूहमै खुलेका छन्।

नेकपाको प्रचण्ड नेपाल समूहले आइतबार बरहथवामा आयोजना आयोजना गरेको सर्लाही जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा मूल पार्टीका ९८ प्रतिशत नेता कार्यकर्ताको सहभागिता रहेको पार्टीका युवा नेता अर्जुन पन्तले जानकारी दिए।

ओली सरकारबाट केही दिनअघि मात्रै राजीनामा दिएका श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा नेकपा प्रचण्ड -नेपाल समूहले सर्लाहीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गरेको हो।

11 sarlahi 1

मूल पार्टीमा सर्लाहीबाट प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, लक्ष्मण पौडेल, रविन्द्र बैठा, डाचाराज वाग्ले, रामेश्वर राय, बद्री न्यौपाने र कमलादेवी महतो केन्द्रीय सदस्य थिए। त्यसमध्ये न्यौपाने र महतो मात्रै ओली समूहमा लागेका छन्। बाँकी ६ जना केन्द्रीय सदस्य प्रचण्ड -नेपाल समूहमा खुलेका छन्। त्यसैगरी मूल पार्टीका जिल्ला अध्यक्ष रेवती पन्त र सचिव कमल बुढाथोकी पनि प्रचण्ड -नेपाल समूहमै छन्।

नेकपाले सर्लाहीमा ६ नगरपालिका र एक गाउँपालिका गरी सात स्थानीय तहमा जित हासिल गरेको थियो। त्यसमध्ये दुई स्थानीय तहका प्रमुखले मात्रै प्रधानमन्त्री ओलीलाई साथ दिएका छन्।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँ र ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटा मात्रै ओली समूहमा लागेका हुन्। प्रसाइँ र देवकोटा दुबै नेकपा ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। ओली समूहले सर्लाहीबाट प्रसाइँ र देवकोटासँगै हरि उप्रेती, कल्पना कटुवाल, राजनारायण साह, बद्री न्यौपाने र कमलादेवी महतोलाई केन्द्रीय सदस्य बनाएको छ।

मूल पार्टीको सर्लाही जिल्ला समिति १६७ सदस्यीय थियो। त्यसमध्ये जिल्ला समितिका आधा दर्जन जति नेता मात्रै ओली समूहमा लागेका पन्तले जानकारी दिए।

सर्लाहीबाट विजयी हुने प्रदेश सांसद डिल्ली उप्रेती र बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, हरिपुर नगरपालिकाका मेयर जमरुद्धिन अन्सारी, बागमती नगरपालिकाका मेयर भरत थापा, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो र चक्रघट्ट गाउँपालिकाका अध्यक्ष विक्रम यादव प्रचण्ड -नेपाल समूहमा खुलेका छन्।

22 sarlahi

त्यसैगरी युवा, विद्यार्थी, किसान, मजदुर र शिक्षक संगठनका प्रमुखसहित अधिकांश पदाधिकारी पनि प्रचण्ड -नेपाल समूहमै खुलेका छन्। आइतबार बरहथवामा भएको प्रचण्ड -नेपाल समूहको अगुवा कार्यकर्ता भेलाले १४ पुसमा सदरमुकाम मलंगवामा वृहत् जनप्रदर्शन गर्ने निर्णय गरेको छ।

 यो पनि जिल्ला समितिमा नरहेकालाई पनि ओलीले बनाए केन्द्रीय सदस्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .